धनुषा/जेठ ३० गते । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नु नै कांग्रेसलाई सुदृढ बनाउने मुख्य आधार भएको बताएका छन्।
नेपाली कांग्रेसको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधरबीचको मतभेदका कारण पार्टी कमजोर बनेको उल्लेख गरे। उनले वर्तमान परिस्थितिमा दुवै पक्षबीच सहमति र सहकार्य कायम गरी कांग्रेसलाई पुनः संगठित र बलियो बनाउनु आवश्यक रहेको बताए।
निधिका अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनसँग सम्बन्धित गतिविधिमात्र सञ्चालन हुनुपर्ने भए पनि विशेष महाधिवेशन गरिएकाले पार्टीभित्र अनावश्यक विवाद र ध्रुवीकरण बढेको हो। उनले त्यसले संगठनात्मक एकता कमजोर बनाएको दाबी गरे।
“निर्वाचन घोषणा भइसकेपछि पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्थ्यो। तर त्यसविपरीत गतिविधि हुँदा कांग्रेसभित्र विवाद बढ्यो र संगठन कमजोर बन्न पुग्यो,” उनले भने।
उनले वर्तमान नेतृत्वको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै प्रतिशोध र दुराशयका आधारमा पार्टी सञ्चालन गर्न खोजिएको आरोप लगाए। कांग्रेसजस्तो लोकतान्त्रिक दलमा एकलौटी निर्णय र बहिष्करणको प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।
कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताले प्राप्त गरेका अधिकारसमेत प्रभावित हुने उल्लेख गर्दै निधिले पार्टीभित्र आन्तरिक लोकतन्त्र, संवाद र सहकार्यको संस्कृतिलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री उमाकान्त चौधरीले चुनावको मुखमा गरिएको विशेष महाधिवेशन नै पार्टीभित्रको वर्तमान विवादको प्रमुख कारण भएको बताए। उनले गत निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी विशेष महाधिवेशन पक्षधरहरूले लिनुपर्ने धारणा राखे।
यद्यपि, चौधरीले पनि पार्टीभित्रको मतभेद अन्त्य गरी सबै पक्षलाई एकताबद्ध बनाउनु समयको आवश्यकता भएको बताए। “आन्तरिक विवादलाई थाँती राखेर कांग्रेसलाई पुनः एक ढिक्का बनाउनु आवश्यक छ,” उनले भने।
भेलामा नेता आनन्दप्रसाद ढुंगाना, पूर्व केन्द्रीय सदस्य मोहन बस्नेत, मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला सभापति, क्षेत्रीय सभापतिसहित ठूलो संख्यामा नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रमका अधिकांश वक्ताले कांग्रेसभित्रको विवाद समाधान गर्दै संगठनलाई थप सुदृढ बनाउनुपर्ने, आगामी महाधिवेशन सहमतिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने तथा पार्टीलाई पुनः जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्न एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।





















Discussion about this post