धनुषा/जेठ २८ गते । नेकपा एमालेका नेता शिवशंकर साह हिराले आफूमाथि लगाइएका गम्भीर आरोपहरू राजनीतिक षड्यन्त्रको हिस्सा भएको दाबी गरेका छन्। जिल्ला अदालत धनुषाबाट सफाइ पाएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको निर्णयले आफू निर्दोष रहेको पुष्टि गरेको बताएका हुन्।
बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा लामो समयदेखि कानुनी प्रक्रिया भोगिरहेका हिराले अदालतले तथ्य, प्रमाण, बयान तथा अनुसन्धानका आधारमा फैसला गरेको उल्लेख गर्दै न्यायपालिकाप्रति सम्मान व्यक्त गरे। उनले सुरुदेखि नै आफू निर्दोष रहेको दाबी गर्दै आएको र अदालतको निर्णयले सत्य स्थापित गरेको बताए।
पत्रकार सम्मेलनमा बोल्दै हिराले आरोपका कारण आफ्नो राजनीतिक जीवन, सामाजिक प्रतिष्ठा तथा पारिवारिक जीवनमा गम्भीर असर परेको स्मरण गरे। यद्यपि अदालतको फैसलाले आफूलाई न्याय मिलेको भन्दै उनले यसलाई सत्यको विजयको रूपमा व्याख्या गरे।
जिल्ला अदालत धनुषाले शिवशंकर साह हिरासहित अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झाविरुद्ध लगाइएका आरोप पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्षसहित सफाइ दिएको थियो। घटनामा हिरा, ठाकुर र महासेठमाथि अपहरणको अभियोग लगाइएको थियो भने अन्य आरोपितविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिएको थियो।
हिराले घटनाक्रमका क्रममा आफूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने प्रयास भएको आरोप लगाए पनि कसैविरुद्ध प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे। उनले कानुन र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास कायम रहेको उल्लेख गर्दै व्यक्तिगत हिसाब–किताब वा बदला लिने सोच नरहेको बताए।
उनले अदालतको फैसलापछि आफू अझ जिम्मेवार बनेको भन्दै अब आफ्नो सम्पूर्ण ऊर्जा जनताको सेवा र सामाजिक काममा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। कठिन परिस्थितिमा साथ दिने परिवार, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा न्यायप्रति विश्वास राख्ने नागरिकप्रति उनले आभारसमेत व्यक्त गरे।
सार्वजनिक जीवनमा रहेका व्यक्तिमाथि आरोप लागेपछि अदालतको अन्तिम निर्णय नआउँदै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट धारणा बनाउने प्रवृत्तिप्रति पनि हिराले चिन्ता व्यक्त गरे। उनले कानुनी प्रक्रियाको सम्मान गर्न र अदालतको निर्णयलाई आधार मानेर धारणा बनाउन सबैलाई आग्रह गरे।
उनका अनुसार मुद्दाको सुनुवाइका क्रममा कथित पीडित बालिका तथा उनकी आमाले अदालतमा दिएको बयानबाट समेत अभियोग पुष्टि हुन नसकेको र अनुसन्धानबाट आरोप स्थापित नभएको अवस्था अदालतको फैसलामा प्रतिबिम्बित भएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका लागि एमालेबाट उम्मेदवार बनेका हिरा एमालेका महाधिवेशन प्रतिनिधिसमेत हुन्। अदालतको फैसलापछि पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्दै उनले विगतका अनुभवलाई सकारात्मक ऊर्जा बनाएर समाज र जनताको हितमा काम गर्ने बताए।





















Discussion about this post