गिरिजानन्द साह/धनुषा/जेठ २६ गते । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने उद्देश्यसहित “एउटा रुख आमाको नाम” भन्ने नाराका साथ डिपिएल जनकपुरधामले एक महिने बृहत् वृक्षारोपण कार्यक्रम मङ्गलबारदेखि सुरु गरेको छ।

कार्यक्रमको उद्घाटन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित ऐतिहासिक गणपति पोखरीको डिलमा वृक्षारोपण गरी गरिएको हो। एक महिनासम्म सञ्चालन हुने अभियानअन्तर्गत जनकपुरधामका विभिन्न सार्वजनिक स्थल, धार्मिक क्षेत्र, विद्यालय परिसर तथा खुला स्थानहरूमा वृक्षारोपण गरिने आयोजकले जनाएको छ।
डिपीएल जनकपुरधामका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियार प्रमुख विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी कपिलेश्वरनाथ युवा कमिटीका निवर्तमान अध्यक्ष तुलसी पजियार तथा जनकपुरधाम घरजग्गा व्यवसाय सङ्घका संस्थापक अध्यक्ष रन्जित पजियार विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारले वातावरणीय सन्तुलन कायम राख्न रुखबिरुवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले बढ्दो प्रदूषण र जलवायु परिवर्तनका चुनौतीबीच हरियाली विस्तार अपरिहार्य बनेको उल्लेख गर्दै यस्ता अभियानले वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले भने, “पर्यावरणलाई बचाउन रुखबिरुवा आवश्यक छन्। हामीले पर्याप्त अक्सिजन प्राप्त गर्न, तापक्रम नियन्त्रण गर्न र स्वच्छ वातावरण निर्माण गर्न अधिकभन्दा अधिक वृक्षारोपण गर्नुपर्छ। प्रत्येक नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्ने बानी बसाल्न आवश्यक छ।”

विशिष्ट अतिथि तुलसी पजियारले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र कपिलेश्वरमा वृक्षारोपण अभियान सुरु हुनु सकारात्मक सन्देश भएको बताए। उनले वृक्षारोपणलाई केवल कार्यक्रमका रूपमा सीमित नराखी बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबैले लिनुपर्ने धारणा राखे।
उनले भने, “बिरुवा रोप्नु मात्र पर्याप्त हुँदैन, त्यसको संरक्षण र नियमित हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ। हरियाली विस्तारले वातावरण मात्र होइन, समाजको स्वास्थ्य र जीवनस्तर सुधारमा समेत सहयोग पुर्याउँछ।”
त्यसैगरी विशिष्ट अतिथि रन्जित पजियारले वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले निजी तथा सार्वजनिक क्षेत्रबीचको सहकार्यबाट यस्ता अभियानलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गरे।
उनले भने, “वृक्षारोपण आजको आवश्यकता हो। बढ्दो सहरीकरणका कारण हरित क्षेत्र घट्दै गइरहेको अवस्थामा यस्ता अभियानले जनचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ।”
कार्यक्रमका अध्यक्ष मनोज कुमार साहले “एउटा रुख आमाको नाम” अभियानलाई भावनात्मक र सामाजिक आन्दोलनका रूपमा अगाडि बढाइएको बताए। प्रत्येक व्यक्तिले आफ्नी आमाको सम्मानस्वरूप एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
उनले आगामी एक महिनाभित्र जनकपुरधामका विभिन्न स्थानमा हजारौँ बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिँदै अभियानलाई सफल बनाउन सबै सरोकारवाला पक्षसँग सहयोगको अपिल गरे।
कार्यक्रममा डिपीएल जनकपुरधामका पदाधिकारीहरू अमरेन्द्र कुमार शाह, रजनीश साह लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी अतिथि, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। अभियानले जनकपुरधामलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






















Discussion about this post