धनुषा/जेठ १५ गते । मिटरब्याज पीडितहरूले आगामी मंगलबारदेखि धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले मिथिला कमाण्ड र भोजपुरा कमाण्डको संयुक्त नेतृत्वमा जेठ १९ गतेदेखि दुईदिने शान्तिपूर्ण घेराउ कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले लामो समयदेखि न्यायको माग गर्दै आए पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेकाले आन्दोलनलाई थप सशक्त बनाउन बाध्य भएको बताए । उनले आवश्यक परे सडक समेत घेराउ गरिने चेतावनी दिए । महतोका अनुसार विभिन्न समयमा गृहमन्त्री परिवर्तन भए पनि मिटरब्याज पीडितको समस्या समाधान हुन नसकेको भन्दै केही दिनअघि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको थियो ।
उनले प्रदेशभरबाट करिब ८ देखि १० हजारसम्म पीडित घेराउ कार्यक्रममा सहभागी हुने दाबी गरे । पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रीय सदस्य तथा पीडित सर्वनारायण रायले अदालतबाट पीडितभन्दा साहु पक्षलाई बढी संरक्षण हुने गरेको आरोप लगाए । उनले मिटरब्याज पीडितहरूले निष्पक्ष न्याय नपाएको भन्दै आन्दोलनलाई अझ सशक्त बनाइने बताए ।





















Discussion about this post