गिरिजानन्द साह/धनुषा/जेठ १३ गते । दिव्य विकास स्रोत केन्द्र (DDRC) को आयोजनामा गुनासो सुनवाई संयन्त्र सुदृढीकरण तथा विद्यालयसँग सम्बन्धित लैङ्गिक हिंसाका सवालमा विद्यालय, सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद कार्यक्रम जनकपुरधाम–१३ स्थित पिडारीमा रहेको श्री राजर्षी जनक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

बेलायत सरकारको आर्थिक सहयोग तथा पिपल इन नीड नेपालको साझेदारीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले सञ्चालन गरिरहेको “सुरक्षा तथा न्याय कार्यक्रम (Security and Justice Programme–SJP)” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन भइरहेको सुरक्षा तथा न्याय कार्यक्रमअन्तर्गत विद्यालयसँग सम्बन्धित लैङ्गिक हिंसाको रोकथाम तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम श्री राजर्षी जनक मा.वि.का प्रधानाध्यापक बिनोद कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमबारे प्रकाश पार्दै दिव्य विकास स्रोत केन्द्र (DDRC) का संयोजक जागेश्वर यादवले विद्यालय तहमा हुने लैङ्गिक हिंसाका घटनाहरू धेरैजसो लुकाइने भएकाले गुनासो सुनवाई संयन्त्रलाई प्रभावकारी बनाउनु अत्यन्त आवश्यक रहेको बताए। उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका व्यक्तिहरूलाई हिंसाका घटना भएमा खुलेर उजुरी दिन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले सुरक्षा तथा न्याय कार्यक्रममार्फत जनकपुरधाम उपमहानगरपालिकाभित्र लैङ्गिक हिंसाको रोकथाम तथा प्रतिकार्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, अभिमुखीकरण तथा समन्वयात्मक गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिए। विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्न सके हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ थियो।
अध्यक्षीय मन्तव्य राख्दै प्रधानाध्यापक बिनोद साहले विद्यालय केवल पढाइ हुने स्थान मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास र सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकाले विद्यालयभित्र हुने कुनै पनि प्रकारको हिंसा तथा दुर्व्यवहारप्रति सबै पक्ष संवेदनशील हुनुपर्ने बताए। उनले विद्यार्थीहरूलाई सुरक्षित र हिंसामुक्त वातावरण उपलब्ध गराउन विद्यालय प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे।
त्यसैगरी, राजर्षी जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साहले विद्यालयमा हुने लैङ्गिक हिंसा, त्यसको प्रभाव तथा न्यूनीकरणका उपाय सम्बन्धी प्रस्तुतिकरण दिएका थिए। उनले विद्यालय, अभिभावक, प्रहरी र सेवा प्रदायक संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। साथै विद्यालय क्षेत्रमा हुने मानसिक, शारीरिक तथा मौखिक हिंसाले विद्यार्थीको आत्मविश्वास, अध्ययन र भविष्यमा नकारात्मक असर पार्ने बताए।
संवाद कार्यक्रमा वडा प्रहरी कार्यालय मुजेलियाका वरिष्ठ सइले विद्यालय तहमा हुने कुनै पनि लैगिंक हिसाका घटनाका विषयमा गुनासाे गर्न सुझाव दिएका थिए भने सामुदायिक प्रहरीकाे भुमिका विषयमा सहजिकरण समेत गरेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ की सदस्य गीता कुमारी साह, माइती नेपाल धनुषाका पुरुषोत्तम यादव, ग्रीन स्पेस नेपालका धीरज शाह, अमित झा लगायत विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयलाई लैङ्गिक हिंसामुक्त, सुरक्षित र समावेशी शिक्षण केन्द्रका रूपमा विकास गर्न सबै पक्षले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताएका छ्न।




















Discussion about this post