धनुषा/बैशाख ३० गते। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय तथा रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् ।
बुधबार जनकपुरधाम आइपुगेका मन्त्री पोखरेलले दुवै संरचना सम्भावनायुक्त भए पनि राज्यको पर्याप्त लगानीको अभाव रहेको बताए । उनले विश्वविद्यालयसँग आफ्नै जग्गा भए पनि अझै आफ्नै स्थानमा स्थानान्तरण हुन नसक्नु दुःखद भएको उल्लेख गरे ।
मन्त्री पोखरेलले रंगशाला निर्माणका लागि समेत राज्यले आवश्यक लगानी गर्न नसकेको स्वीकार गर्दै विभिन्न अनुदान प्रस्ताव आए पनि त्यसबारे छलफल प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए ।
उनले विश्वविद्यालयलाई आफ्नै जग्गामा स्थानान्तरण गर्ने तथा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा छिट्टै आवश्यक छलफल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । अवलोकनका क्रममा मन्त्री पोखरेलसँगै धनुषा ३का प्रतिनिधिसभा सदस्य मनिष झा पनि सहभागी थिए ।




















Discussion about this post