चैत ०४ गते । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी समेटिने ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ।
नेपाल सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देहीको देवदह, कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीको रामग्राम समेटेर बृहत् लुम्बिनी क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाएको थियो। पूर्वअर्थमन्त्री विष्णु पौडेल को पहलमा यसका लागि विश्व बैंकसँग प्रस्ताव पेश गरिएको थियो।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई का अनुसार, विश्व बैंकको बोर्ड बैठकले ८५ मिलियन अमेरिकी डलर (१२ अर्ब ३५ करोड रुपैयाँ) ऋण उपलब्ध गराउने निर्णय गरेको छ। अब नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि परियोजना कार्यान्वयनका लागि सम्झौता हुनेछ।
परियोजना कार्यान्वयनपछि ऋण रकमबाट कपिलवस्तु, रूपन्देही र नवलपरासीका बुद्धसँग सम्बन्धित स्थलहरूको पूर्वाधार विकासमा खर्च गरिनेछ। यसमा सडक, नाली, बसपार्क, विद्युतीकरण, ध्यान केन्द्र, विश्रामस्थल, सूचना केन्द्र, क्याफे र स्थानीय उत्पादन बिक्री केन्द्र जस्ता पर्यटकिय पूर्वाधारको निर्माण समावेश हुनेछ।
परियोजना अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकासँगै पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र पर्यटन बोर्ड सहभागी हुनेछन्। सहरी विकास र पर्यटन मन्त्रालयले परियोजना नेतृत्व गर्ने छन्।
लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ र यहाँ मायादेवी मन्दिर, बुद्ध जन्मस्थल, पवित्र पुष्करिणी पोखरी र अशोक स्तम्भ ऐतिहासिक महत्वका सम्पदा हुन्। कपिलवस्तुको तिलौराकोट प्राचीन शाक्य राज्यको राजधानी हो भने पश्चिम नवलपरासीको रामग्राम स्तूपमा बुद्धको मूल अवशेष सुरक्षित छ।
पूर्वअर्थमन्त्री पौडेलका अनुसार परियोजना बहुक्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय साझेदारीमार्फत धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र दिगो आर्थिक समृद्धिको नमूना क्षेत्र बनाउन लक्षित छ। यसले लुम्बिनीलाई विश्व शान्ति र दिगो पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
















Discussion about this post