जनकपुरधाम/जेठ २० गते। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भारत र चीनसँग सन्तुलित र मित्रवत् सम्बन्ध कायम गर्दै समृद्धिको यात्रामा अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले चीन सरकारको चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल कार्यालयद्वारा जनकपुरधाममा प्रसिद्ध सरस्वती नमूना माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमलाई आज जनकपुरधाममा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । वहाले नेपालका दुवै छिमेकी—भारत र चीन—विश्वकै ठूलो जनसंख्या भएका राष्ट्रहरू रहेको भन्दै “नेपाल दुबैको बीचमा रहनु आफैंमा अवसर हो” भन्ने धारणा राखे । ‘हाम्रो दुवै छिमेकी मुलुक समृद्धिको बाटोमा छन् । हामीले पनि छिमेकीहरुबाट पाठ सिक्नुपर्छ । उनीहरूको सहयोगलाई सम्मानपूर्वक स्वीकार गरेर देशलाई समृद्धितर्फ डोर्याउन सकिन्छ,’ पोखरेलले भने ।
नेकपा एमालेका नेत्री एवं प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारको महत्वपूर्ण योगदान भएको बताउँदै नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासका लागि थप लगानी बढाउनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक विकासका लागि चीन सरकारको तर्फबाट प्राप्त भएको शैक्षिक सामग्रीहरूले सहयोग मिल्ने बताउनुभयो । नेपालका लागि चिनिया राजदूतावासका वाणिज्य काउन्सीलर सीईयू, चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालका कन्ट्री डाईरेक्टर जाओ स्याङ्ग र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङ्गचेङ्गले विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो । यसै गरि जनकपुरधामका प्रादेशिक अस्पतालका प्रसूति गृहका लागि चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालले आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत सामाग्रीहरू अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहलाई हस्तान्तरण गर्नुभयो ।
















Discussion about this post