जेठ १९ गते। मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ ।
शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारीले सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलन हुने जानकारी दिएकी हुन् । मन्त्री तिवारीका अनुसार सम्मेलनको उद्देश्य प्रदेश र राष्ट्रिय तहको शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउने विषयमा बहस गर्दै नयाँ मार्गचित्र निर्माण गर्नु हो । उनले भनिन्, “यो सम्मेलनले शिक्षा क्षेत्रमा नवप्रवर्तनशील रणनीति निर्माण गर्ने दिशामा टेवा पुर्याउनेछ ।”
सम्मेलनमा सातवटै प्रदेशका शिक्षामन्त्री, सचिव, संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य, विश्वविद्यालय, अनुसन्धान संस्था, शिक्षा विज्ञ, शिक्षक संघ, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
शिक्षामन्त्री तिवारीले मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै सम्मेलनले वर्तमान शिक्षा प्रणालीको अवस्था, चुनौती र सम्भावनाका विषयमा गहिरो छलफल हुने बताइन् । उनले शिक्षा सुधारको साझा मञ्चको रूपमा सम्मेलनलाई लिइएको उल्लेख गर्दै भनिन्, “शिक्षा क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय दातृ संस्था लगायत सबै सरोकारवालाबीच सहकार्यको सम्भावना खोज्नेछौं ।” उनका अनुसार सम्मेलनबाट मधेश प्रदेशको शिक्षा नीति कार्यान्वयनमा मार्गदर्शक सुझावहरू प्राप्त हुने, संघीय शिक्षा नीतिमा योगदान पुग्ने, र तीन तहबीच समन्वयात्मक शिक्षा प्रशासनको आधार तयार हुने अपेक्षा गरिएको छ। सम्मेलनबाट शिक्षा सुधारका ठोस कार्ययोजना निर्माण हुने अपेक्षा गरिएको छ ।















Discussion about this post