असोज १६ गते। चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ ।भारतसँग नेपाल २३ रनले पराजित भएको हो। हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्न सफल भयो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ३२, सन्दीप जोराले १२ बलमा २९ रन, कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाएर आउट भए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोडे भने सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।
भारतका रवि बिस्नोइ र आवेश खानले समान तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले यशस्वी जयसवालको शतकको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
यशस्वी ४९ बलमा आठ चौका र सात छक्कासहित १०० रन बनाएर आउट भए । ट्वान्टी–२० क्रिकेटमा यशस्वीको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
यशस्वीले पहिलो विकेटका निम्ति कप्तान रितुराज गाइकवाडसँग ९.५ ओभरमा १०३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । गाइकवाडले २५ रन बनाए ।
रिंकु सिंहले ३७ र सिवम दुवे २५ रनमा अविजित रहे । यी दुईले पाँचौँ विकेटका निम्ति ५२ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ३१ रन खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।
भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।

















Discussion about this post