असोज १५ गते। नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभएको छ ।
आज सोमवार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तीर्ण भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने भनी प्रश्नसमेत गर्नुभयो । उहाँले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समितिसमक्ष स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘न्याय सेवा आयोगले परीक्षा लियो, परीक्षामा अनुत्तीर्ण भएका प्रतिस्पर्धीहरू कसरी न्यायाधीश नियुक्तिका लागि योग्य हुनुभयो ? न्यायाधीश नियुक्तिमा हामी संविधान कार्यान्वयन गर्न सक्दैनौँ भने माननीयज्यूहरू के हेरेर बसिराख्नुभएको छ ? कानुनको व्याख्या गर्ने न्यायालयमा यस प्रकारको विषय गम्भीर, लाजमर्दो अवस्था निर्माण भयो । अयोग्य भएको, परीक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट हामीले कुन प्रकारको न्यायको अनुभूति गर्न सक्छौँ ?’
सचेतक बर्तौलाले नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसै खुडा प्रहार गरी हत्या गरेर आजीवन कारावासको सजाय भोगिरहेका ‘रिगल डन’ भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले सरकारको निर्णयलाई राष्ट्रपतिले लालमोहर लगाएको भन्दै संविधान र कानुनले दिएको अधिकार गृहमन्त्रीले दुरुपयोग गरेको बताउनुभयो । सरकारको यस कदमले व्यवस्था, संविधान र कानुनमाथि नै प्रश्न सिर्जना गरेको उहाँको भनाइ छ ।















Discussion about this post