जनकपुरधाम/कार्तिक २१ गते । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहिया युवा संगठनले गाउँमा सरसफाइ अभियान सञ्चालन गरेको छ।
गाउँको वातावरण स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले आयोजित अभियानमा स्थानीय युवाहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो। अभियानमा सहभागी हुँदै एक स्थानीयले आफ्नो अमूल्य समय समाजका लागि दिन पाउँदा व्यक्तिगत रूपमा निकै खुसी लागेको बताएका छन्।
उनले आफ्नो गाउँ आफैँले बनाउनुपर्ने भन्दै गाउँको विकास र परिवर्तनका लागि प्रत्येक नागरिकले आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।
‘गाउँको विकास र परिवर्तन अरूले गरिदिऊन् भनेर मात्र हुँदैन, त्यसका लागि हामी आफैँले केही समय समाजलाई दिन सक्नुपर्छ,’ उनले भने।
उनका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास, एकता र जिम्मेवारीबोध आवश्यक छ। गाउँलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिएका छन्।
दीपावली तथा छठजस्ता महत्वपूर्ण पर्वलाई स्वच्छ र सभ्य वातावरणमा मनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले सामाजिक एकता र सामुदायिक जिम्मेवारीको सकारात्मक सन्देश दिएको छ।
















Discussion about this post