जनकपुरधाम/असोज २४ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुर उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
झाले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमार्फत आजकै मितिदेखि पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् । उनले आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
तेस्रो मधेश आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका झाले मधेशको अधिकार, पहिचान, समानता र सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आएको बताएका छन् । आन्दोलनका क्रममा जनकपुरधाममा युवाहरूको नेतृत्व गर्दै सार्वजनिक तथा राजनीतिक जीवनमा सक्रिय भएको पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
झाले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध हुँदै जनकपुर उपमहानगरपालिका समितिको नगर सचिवका रूपमा संगठन निर्माण तथा पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भएपछि पनि झाले नगर सचिवकै जिम्मेवारी सम्हाल्दै आएका थिए । तेस्रो मधेश आन्दोलनदेखि एक दशकभन्दा लामो समयसम्म राजनीतिक गतिविधिमा सक्रिय रहेका उनले मधेशका मुद्दा र पार्टी संगठनमा आफ्नो तर्फबाट योगदान गर्ने प्रयास गरेको बताएका छन् ।
राजीनामा पत्रमा झाले आफ्नो राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाउने निर्णय उल्लेख गरे पनि आगामी राजनीतिक गन्तव्यबारे भने स्पष्ट पारेका छैनन् ।
पार्टीमा रहँदा सहयोग, साथ र मार्गदर्शन गर्ने अग्रज, सहकर्मी, युवा साथी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले नेतृत्वबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन् ।
प्रशान्त झाको राजीनामासँगै जनकपुरधामको स्थानीय राजनीतिक वृत्तमा उनको आगामी राजनीतिक यात्राबारे चासो बढेको छ । यद्यपि, उनी आगामी दिनमा कुन राजनीतिक दल वा अभियानमा आबद्ध हुनेछन् भन्नेबारे कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
















Discussion about this post