काठमाडौं/असोज २४ गते। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै हालसम्म शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको हो ।
प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्छ । प्राधिकरणले तोकेको निर्देशिकाअनुसार शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने प्रावधान छ । पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम असुल गर्ने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने कार्य कानुनविपरीत हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नियमविपरीत शुल्क असुल गर्ने वा अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
प्राधिकरणको स्पष्टोक्तिसँगै इन्टरनेट सेवाको शुल्क वृद्धिबारे फैलिएका समाचारका बीच उपभोक्तालाई स्वीकृत दरअनुसार सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई सचेत गराइएको छ ।
















Discussion about this post