जनकपुरधाम/असोज २४ गते । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट भन्सार छली गरी ल्याइएका करिब ८ लाख ८५ हजार रुपैयाँ मूल्यका इलेक्ट्रोनिक्स तथा अन्य सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार दिउँसो करिब २ बजे महोत्तरीबाट जनकपुरधामतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ प १२२२ नम्बरको यात्रुवाहक ई–रिक्सालाई रोकेर जाँच गर्दा भन्सार छलीका सामान फेला परेका हुन् ।
प्रहरी टोलीले ई–रिक्साको चालक र यात्रु बस्ने सिटमुनि फल्स बटन बनाई लुकाएर ल्याइँदै गरेका सामान बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग भएको ई–रिक्सा र त्यसका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार नियन्त्रणमा लिइएका चालक महोत्तरीको जलेश्वर नगरपालिका–२ निवासी १८ वर्षीय रवि कुमार ठाकुर हुन् ।
प्रहरीका अनुसार बरामद सामानमा ई–रिक्सा, २०० थान इयरबड्स प्रो, १०० थान स्मार्टवाच, १०० थान नेकब्यान्ड र २० प्याकेट खुला इयरफोनलगायत सामग्री रहेका छन् ।
बरामद सामग्रीको मूल्याङ्कनअनुसार ई–रिक्साको मूल्य करिब ४ लाख रुपैयाँ, इयरबड्स प्रोको २ लाख रुपैयाँ, स्मार्टवाचको ८० हजार रुपैयाँ, नेकब्यान्डको ५५ हजार रुपैयाँ र खुला इयरफोनको १ लाख ५० हजार रुपैयाँ रहेको छ । यी सामान र ई–रिक्सासहित कुल अनुमानित मूल्य ८ लाख ८५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका चालक तथा बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा जाँचलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

















Discussion about this post