जनकपुरधाम/असोज २४ गते। मधेश प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र कुमार ठाकुरले युवाको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा जेसीजको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
जनकपुर जेसीजद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठाकुरले युवाहरूलाई समाज परिवर्तनको संवाहकका रूपमा अघि बढ्न आग्रह गरे ।
उनले युवामा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक सेवाको भावना विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे । युवाहरूको ऊर्जा र क्षमतालाई सामाजिक विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवार नेतृत्व निर्माणमा जेसीजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।
युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा जेसीजले सञ्चालन गर्दै आएका गतिविधिले सक्षम तथा जिम्मेवार नेतृत्व तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
जनकपुर जेसीजका वर्ष २०२६ का अध्यक्ष भवेश झासहित कार्यकारिणी समितिका पदाधिकारी, सदस्य तथा जेसीज परिवारको उपस्थितिमा आयोजित कार्यक्रममा युवाको नेतृत्व क्षमता विकास, व्यक्तित्व निर्माण, सामाजिक सेवा र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
सप्ताहव्यापी कार्यक्रममार्फत युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउँदै समुदायको विकासमा सक्रिय सहभागिताका लागि प्रेरित गरिने आयोजकले जनाएको छ ।
युवा नेतृत्वलाई सामाजिक सेवासँग जोडेर सकारात्मक परिवर्तनको अभियान अघि बढाउने उद्देश्यसहित आयोजित कार्यक्रमले समाज निर्माणमा युवाहरूको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
















Discussion about this post