जनकपुरधाम/साउन ३१ गते। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आइतबार जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३९औँ स्थापना दिवस मनाएको छ।
बचत तथा ऋण सहकारी (साकोस)हरूको केन्द्रीय संघका रूपमा रहेको नेफ्स्कुनको स्थापना २०४५ साल साउन ३२ गते भएको हो। संघले हरेक वर्ष साउनको अन्तिम दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका सहकारी रजिष्ट्रार रुपेशकुमार साहले सहकारी क्षेत्रको सञ्जाललाई थप सबल, जिम्मेवार र प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
सहकारी क्षेत्रमा लामो समयदेखि काम हुँदै आए पनि संस्थाहरू अझै सुशासनकै विषयमा अल्झिरहेको उनको भनाइ थियो। “पाँच दशक भयो सहकारीमा लागेको, तर इनोभेसनमा जानुको साटो अझै सुशासनमै अल्झिएका छौँ,” उनले भने।
सहकारी संस्थाहरूको अनुगमनका क्रममा कतिपयले विद्यमान नियम तथा मापदण्ड पालना नगरेको पाइएको उल्लेख गर्दै रजिष्ट्रार साहले सहकारी क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या समेत उल्लेख्य रहेको बताए। प्राप्त उजुरी समाधान गर्न नियामक निकायलाई समेत चुनौती भइरहेको उनले स्पष्ट पारे।
सहकारी संस्थाहरूबीच देखिने सानातिना विवाद सम्बन्धित संघ तथा सञ्जालले आफैं समाधान गर्नुपर्नेमा उनले जोड दिए। संघ तथा संस्थाहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सके सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
नेफ्स्कूनको ३९औँ स्थापना दिवसको अवसरमा मधेश प्रदेशमा सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विभिन्न संघ, संस्था, व्यवस्थापक तथा कर्मचारीलाई सम्मान गरिएको छ।
मधेश प्रदेश उत्कृष्टता तथा उत्प्रेरणा पुरस्कारबाट पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सम्मानित भएको छ।
त्यसैगरी प्रदेश उत्कृष्ट सहकारी संस्थातर्फ बारा जिल्लाको पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ।
मधेश प्रदेश उत्कृष्ट व्यवस्थापकतर्फ चन्द्रोदय साकोस, रौतहटका व्यवस्थापक शुभनारायण चौधरी सम्मानित हुनुभएको छ। त्यस्तै नेफ्स्कून सर्वोत्कृष्ट संघको सम्मानबाट रौतहट बचत तथा ऋण सहकारी संघ र नेफ्स्कून उत्कृष्ट कर्मचारीको सम्मानबाट राजेन्द्र ढकाल सम्मानित हुनुभएको छ।
सम्मानित संस्था तथा व्यक्तिहरूलाई कार्यक्रमका अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सदस्यकेन्द्रित र नमुना कार्य गर्न प्रेरणा प्रदान गरेका थिए।
कार्यक्रममा मधेस प्रदेशमा रहेका २७३ सहकारी संस्थामध्ये हालसम्म ९७ वटा मात्रै सम्बन्धित सञ्जालमा आबद्ध रहेको जानकारी गराइएको थियो। सहकारी संस्थाहरूबीच समन्वय, सहकार्य र संस्थागत सुदृढीकरणका लागि संघमा आबद्धता विस्तार गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए।
नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि तथा सहकारी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।















Discussion about this post