सर्लाही/साउन २९ गते। सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
भारतबाट हुण्डी कारोबारको रकम लिएर सर्लाही प्रवेश गरेको आशंकामा प्रहरीले महोत्तरीका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भारतबाट बयलबासतर्फ आउँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडि रोकेर जाँच गरिएको थियो।
जाँचका क्रममा स्कुटर चालक महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी ५७ वर्षीय जगन्नाथ महतोले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको स्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमले जानकारी दिए।
प्रहरीले झोलाबाट १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय रुपैयाँ दरका ३ हजार १०८ थान, १ सय रुपैयाँ दरका ७ सय थान र ५० रुपैयाँ दरका २ सय थान नोट बरामद गरेको जनाएको छ।
यी नोटको कुल रकम ५१ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
रकमसँगै प्रहरीले ज १० प ८६५२ नम्बरको स्कुटर र रेडमी कम्पनीको मोबाइलसमेत बरामद गरेको छ।
पक्राउ परेका महतोमाथि रकमको स्रोत तथा हुण्डी कारोबारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।















Discussion about this post