जनकपुरधाम/असोज २५ गते । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको असामयिक निधनमा शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सोमबार एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ।
उपमहानगरपालिकाले जारी गरेको शोक सन्देशअनुसार वडा अध्यक्ष साहको सोमबार बिहान ५ बजे असामयिक निधन भएको हो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगर कार्यपालिकाको निर्णयअनुसार सोमबार उपमहानगरपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट प्रदान हुने नियमित सेवाहरू बन्द रहने जनाइएको छ।
उपमहानगरपालिकाका अनुसार स्वास्थ्य सेवा, दमकल, सरसफाइलगायतका अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
वडा अध्यक्ष साहको निधनले जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय तहलाई अपूरणीय क्षति पुगेको भन्दै उपमहानगरपालिकाले दिवंगत साहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, उपमहानगरपालिकाले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेको छ।















Discussion about this post