जनकपुरधाम/साउन १७ गते। गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच विभिन्न मागका विषयमा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि दुवै पक्षबीच समझदारी भएको छ। समझदारीसँगै हिन्दू सम्राट सेनाले जारी राखेका सम्पूर्ण आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको जनाएको छ।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल र हिन्दू सम्राट सेना नेपालका पदाधिकारीबीच विभिन्न विषयमा विस्तृत छलफल भएको थियो।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारसमक्ष पेश गरिएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गर्दै कुल १९ बुँदे प्रस्ताव सरकारलाई बुझाइएको छ। ती मागप्रति सरकारले सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने सहमति भएको उनले जानकारी दिए।
समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेका सबै व्यक्तिलाई रिहा गर्ने, उनीहरूमाथि कुनै पनि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
सरकारी पक्षबाट माग सम्बोधन हुने प्रतिबद्धता आएपछि हिन्दू सम्राट सेनाले तत्कालका लागि सबै आन्दोलन, प्रदर्शन तथा विरोधका कार्यक्रम स्थगित गरेको जनाएको छ।
यसैबीच गृहमन्त्री गुरुङले सरकारले यसअघि जिल्ला प्रशासन कार्यालयमा प्राप्त गरेको १३ बुँदे मागपत्र र आइतबार बुझाइएको थप ६ बुँदे मागपत्र औपचारिक रूपमा सरकारको तर्फबाट ग्रहण गरिएको बताएका छन्। उनले दुवै पक्षबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने दिशामा आवश्यक प्रक्रिया अघि बढाइने विश्वास व्यक्त गरेका छन्।















Discussion about this post