काठमाडौं/साउन १४ गते। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) रश्मी पन्तलाई बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको छ।
सीआईबीका अनुसार एउटा निश्चित प्रयोजनका लागि स्वीकृत गरिएको कर्जा रकम अन्य प्रयोजनमा प्रयोग भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानमा कर्जा स्वीकृति प्रक्रिया र रकमको उपयोगमा गम्भीर अनियमितता देखिएपछि पन्तलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।
उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानको केन्द्रमा रहेको रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रभु बैंकले करिब ४८ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको थियो। उक्त कर्जा रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत गरिएको भए पनि त्यसको ठूलो हिस्सा स्वीकृत उद्देश्यभन्दा बाहिर प्रयोग गरिएको आरोप छ।
सीआईबीका अनुसार कर्जा रकम कम्पनीका अध्यक्ष तथा उनीसँग सम्बन्धित अन्य व्यक्ति र कम्पनीहरूको दायित्व भुक्तानी गर्न प्रयोग गरिएको आशंका गरिएको छ।
यसै प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै पक्राउ परेर सीआईबीको हिरासतमा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।















Discussion about this post