काठमाडौं/असार २६ गते। टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको औपचारिक प्रक्रिया अघि बढाएको छ। कम्पनीले रोडशो सम्पन्न गरेसँगै संस्थागत लगानीकर्ताबाट गोप्य शिलबन्दी आशयपत्र (बिड) माग गरेको हो।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार कम्पनीले जारी पूँजीको २०.२५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ। यसमध्ये ४ लाख ३४ हजार ६०० कित्ता अर्थात् कुल निष्काशनको ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिमार्फत बिक्री गरिनेछ।
कम्पनीका अनुसार यस प्रक्रियाअघि असार १९ गते काठमाडौंको होटल याक एण्ड यतिमा रोडशो कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममार्फत कम्पनीले आफ्नो वित्तीय अवस्था, व्यवसायिक योजना तथा लगानी सम्भावनाबारे जानकारी गराएको जनाएको छ।
रोडशो सम्पन्न भएसँगै इच्छुक योग्य संस्थागत लगानीकर्तालाई आगामी असार २६ गते साँझ ५ बजेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गोप्य शिलबन्दी आशयपत्र पेश गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ।
पेस भएका आशयपत्रहरू असार २९ गते बिहान ८ बजे सिंहदरबार प्लाजास्थित नेप्सेको कार्यालयमा खोलिने कार्यतालिका तय गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालिरहेको छ।















Discussion about this post