जनकपुरधाम/असार १५ गते । जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीहरूको संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ। बालअधिकारका लागि नागरिक समाज सशक्तीकरण कार्यक्रमअन्तर्गत आयोजित तीनदिने तालिम असार १३ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको थियो।
सबल नेपालको आयोजनामा सम्पन्न तालिममा बाल क्लब सञ्जालका पदाधिकारीहरूलाई संसदीय अभ्यास, नेतृत्व विकास, बालअधिकार, बाल सहभागिता, नीति निर्माण प्रक्रियामा बालबालिकाको भूमिका तथा अधिकार संरक्षणसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको सबल नेपालका नीरबहादुर आलेले जानकारी दिए।
उनका अनुसार बाल क्लब सञ्जालका पदाधिकारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै बालअधिकार प्रवर्द्धन र बालमैत्री समाज निर्माणमा उनीहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
तालिममा अधिवक्ता रक्की प्रसादले विभिन्न विषयमा सहजीकरण गरेका थिए। तालिमको दोस्रो दिन मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव ले विशेष सत्र सञ्चालन गर्दै बालबालिकालाई संसदीय अभ्यासबारे जानकारी गराएका थिए। उनले संघीयता र मधेशका युवाको भूमिका सम्बन्धी प्रस्तुतीकरण समेत गरेका थिए।
स्विडेन स्वेरिजे, सेभ द चिल्ड्रेन र बालअधिकारका लागि नागरिक समाजको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा मधेश प्रदेशका पाँच जिल्लाका बाल क्लब सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आयोजकले तालिमले बालबालिकामा नेतृत्व क्षमता, अधिकारबारे चेतना तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





















Discussion about this post