गिरिजानन्द साह/धनुषा/असार १५ गते। धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपालको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै धान उत्पादनमा आत्मनिर्भर बन्न अनुसन्धान, आधुनिक प्रविधि र किसानमैत्री नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई अवसरमा बदल्न सरकार, अनुसन्धान संस्था, स्थानीय तह र किसानबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। उनले किसानलाई गुणस्तरीय बीउ, सिँचाइ सुविधा, कृषि प्रविधि तथा प्राविधिक सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा प्रसाद यादवले पछिल्ला वर्षहरूमा धान उत्पादनमा सुधार देखिए पनि जलवायु परिवर्तनका कारण अनियमित वर्षा, अत्यधिक तापक्रम तथा प्राकृतिक विपद्का कारण उत्पादनमा चुनौती थपिएको बताए। हाल यस क्षेत्रमा प्रतिहेक्टर करिब चार टन धान उत्पादन भइरहेको जानकारी दिँदै उनले अनुसन्धानमा आधारित जलवायुमैत्री खेती प्रणालीको विस्तारले मात्र खाद्य सुरक्षा र उत्पादन वृद्धि सम्भव हुने धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागी कृषि वैज्ञानिक, प्राविधिक, किसान तथा सरोकारवालाहरूले अनुसन्धानबाट विकसित उन्नत धानका जात, यान्त्रिकीकरण, प्रभावकारी सिँचाइ व्यवस्थापन र आधुनिक खेती प्रणालीलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। जलवायु अनुकूल कृषि अभ्यासलाई प्राथमिकता दिएर मात्रै उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिने उनीहरूको निष्कर्ष थियो।
दिवसको अवसरमा अनुसन्धान केन्द्र परिसरमा सामूहिक धान रोपाइँसमेत गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि क्षेत्रका विज्ञ, किसान तथा विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस वर्ष सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको हो। कृषि विभागले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आधुनिक, प्रविधिमैत्री र जलवायुअनुकूल खेती प्रणाली अपनाउन किसानलाई आग्रह गरेको छ।





















Discussion about this post