धनुषा, असार १३ गते । जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीहरूको ‘संसदीय अभ्यास र बालअधिकार सम्बन्धी क्षमता विकास तालिम’ शनिबारदेखि जनकपुरधाममा सुरु भएको छ।
बालअधिकारका लागि नागरिक समाज सशक्तीकरण कार्यक्रमअन्तर्गत आयोजित तीनदिने तालिम असार १३ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
सबल नेपालका नीर बहादुर आलेका अनुसार तालिममा बाल क्लब सञ्जालका पदाधिकारीहरूलाई संसदीय अभ्यास, नेतृत्व विकास, बालअधिकार, बाल सहभागिता, नीति निर्माण प्रक्रियामा बालबालिकाको भूमिका तथा अधिकार संरक्षणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
उनले तालिमको मुख्य उद्देश्य बाल क्लब सञ्जालका पदाधिकारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै बालअधिकार प्रवर्द्धन, बाल सहभागिता सुदृढीकरण तथा बालमैत्री समाज निर्माणमा उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्नु रहेको बताए। तालिममा अधिवक्ता रक्की प्रसादले सहजीकरण तथा प्रशिक्षण दिइरहेका छन्।
सबल नेपालको आयोजनामा सञ्चालन भएको उक्त तालिम स्विडेन (Sverige), सेभ द चिल्ड्रेन तथा बालअधिकारका लागि नागरिक समाज कार्यक्रमको सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा मधेश प्रदेशका पाँच जिल्लाका बाल क्लब सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
आयोजकका अनुसार तालिमबाट बालबालिकाहरूको नेतृत्व क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय तहदेखि नीति निर्माण प्रक्रियासम्म उनीहरूको सार्थक सहभागिता बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।





















Discussion about this post