गिरिजानन्द साह/धनुषा/असार ११ गते। धनुषाको औरही गाउँपालिकाको ११औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहको अध्यक्षतामा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३७ करोड २७ लाख ८४ हजार** बराबरको आय–व्यय अनुमानसहित बजेट प्रस्तुत गरेको हो।
गाउँसभामा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गाउँपालिका उपाध्यक्ष पुनम कुमारी साहले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन्।
उपाध्यक्ष साहले प्रस्तुत गरेको बजेटमा संघीय सरकार, मधेश प्रदेश सरकार तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्त हुने रकमलाई समेट्दै कुल रु. ३७ करोड २७ लाख ८४ हजार आय तथा सोही बराबरको व्यय अनुमान गरिएको जानकारी दिइन्।
गाउँसभामा प्रस्तुत बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, सामाजिक सेवा तथा सुशासनलाई प्राथमिकतामा राखेको छ। बजेट कार्यान्वयनमार्फत गाउँपालिकाको समृद्धि, सार्वजनिक सेवाको प्रभावकारिता तथा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
उपाध्यक्ष साहले संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँडको रकम समयमै प्राप्त हुने अपेक्षाका साथ बजेट तर्जुमा गरिएको बताइन्। उनले आगामी आर्थिक वर्षमा गाउँपालिकामा आवश्यक जनशक्ति व्यवस्थापन, विकास आयोजना निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै योजनाहरूलाई शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।
गाउँसभाको समापनमा उपाध्यक्ष साहले बजेट निर्माण प्रक्रियामा सहयोग पुर्याउने गाउँसभा सदस्य, कार्यपालिका, बुद्धिजीवी वर्ग तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै बजेटले औरही गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।





















Discussion about this post