गिरिजानन्द साह/धनुषा/असार ११ गते। धनुषाको धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राज कुमार साहको अध्यक्षतामा सम्पन्न गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६० करोड ६५ लाख ५७ हजार बराबरको बजेट तथा विनियोजन विधेयक पारित गरेको हो।
गाउँसभामा प्रस्तुत गरिएको विनियोजन विधेयकअनुसार आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु. ३५ करोड १० लाख ५७ हजार र पुँजीगत खर्चतर्फ रु. २५ करोड ५५ लाख विनियोजन गरिएको छ। यसरी कुल रु. ६० करोड ६५ लाख ५७ हजार रकम सेवा तथा विकास निर्माणका कार्यक्रम सञ्चालनका लागि छुट्याइएको गाउँपालिकाले जनाएको छ।
बजेटको क्षेत्रगत बाँडफाँडअनुसार गाउँ कार्यपालिकाका लागि रु. ५० करोड ५५ लाख ५७ हजार, वडा समितिका लागि रु. ७ करोड ५० लाख तथा विषयगत शाखा तथा अन्य शाखाहरूका लागि रु. २ करोड ३० लाख** विनियोजन गरिएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानी र लगानी शेयर ऋण शीर्षकमा भने कुनै रकम विनियोजन गरिएको छैन।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत राज कुमार दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि गाउँपालिका अध्यक्ष साहले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डल, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गाउँसभा अन्त्यमा अध्यक्ष साहले सभामा उपस्थित सम्पूर्ण सदस्य, जनप्रतिनिधि, कर्मचारी तथा सहयोगी निकायप्रति धन्यवाद ज्ञापन गर्दै पारित नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे। उनले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनअपेक्षा सम्बोधन गर्ने दिशामा बजेट केन्द्रित रहेको उल्लेख गरे।





















Discussion about this post