धनुषा/फागुन ११ गते । जनकपुरधाममा टिपरको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी जवान चन्द्रकला महतोको ज्यान गएको हो।
जनकपुरधाम उपमहानगरपालिका–४ मुरलीचोकस्थित सिटिजन बैंक अगाडि, भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले सोहि दिशामा जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए । मृतक महतो बर्दिवास नगरपालिका–पशुपतिनगर निवासी थिइन्।
घटनामा संलग्न टिपर चालक र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post