मंसिर २८ गते। अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्।
बिहीबार बिहान सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६, हनुमान चोकनजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।
हरिपुर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ।
नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यालय जाँदैगर्दा बाटैमा लुटपाट भएको संस्थाका अध्यक्ष गणेशकुमार यादवले जनाकारी दिए।
सहकारीका अनुसार ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समूहले साथमा रहेको पाँच लाख रकम लुटेर लगेको हो।
कर्मचारीहरूले प्रतिकार गर्न खोज्दा अज्ञात समूहले एक राउन्ड हवाई फायरसमेत गरेको प्रत्यक्षदर्शीको भनाइ छ। नम्बर नखुलेको मोटरसाइकलमा सवार दुईजनाको समूहबाट हवाईफायर भएको थियो।
सूचना प्राप्त भएलगत्तै घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दीपेन्द्र पंजियार थारूले जानकारी दिए। हतियारधारी समूह लुटपाटपछि हर्दी खोलातर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए। घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट ४ सय मिटरको दूरीमा छ।
















Discussion about this post