श्रावण १६ गते । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापा मारेको थियो । अवैध लुकाएर राखेको हातहतियारसहित प्रहरीले पक्राउ गरेको ३५ वर्षीय सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान लाग्दा स्थानियले रोकेपछि झडप भएको हो ।
करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् ।
दोहोरो भिडन्तमा दुई जना प्रहरी घाइते भएका छन् । स्थानियले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका हुन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाइते भएका छन् ।
स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा आज बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।
उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताए । लामा बन्यजन्तुको शिकारमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post