झाँसी/२ कात्तिक। भारतीय अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती वारेन्ट जारी गरेको छ। करिब १६ वर्षअघि टेलिभिजन कार्यक्रममा एक युवकलाई अपमानित गरेको र त्यसपछि ती युवकले आत्महत्या गरेको घटनासम्बन्धी मुद्दामा अदालतले यस्तो आदेश दिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार, सन् २०१० मा प्रसारित ‘राखी का इन्साफ’ नामक टेलिभिजन कार्यक्रममा झाँसीका २४ वर्षीय लक्ष्मणप्रसाद अहिरवारलाई अपमानित गरेको आरोप राखीमाथि छ।
प्रेमनगर थाना क्षेत्रका बासिन्दा तथा तरकारी व्यापारी लक्ष्मणप्रसादलाई कार्यक्रममा उनकी पत्नी र परिवारका सदस्यको उपस्थितिमा ‘नामर्द’ र ‘नपुंसक’ जस्ता शब्द प्रयोग गरेर अपमान गरिएको आरोप लगाइएको छ। उक्त घटनाको केही दिनपछि लक्ष्मणप्रसादले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनापछि मृतककी आमाले दिएको उजुरीका आधारमा प्रेमनगर प्रहरीले राखी सावन्त र उनको टोलीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीले अदालतमा आरोपपत्र पेस गरेपछि मुद्दाको सुनुवाइ हुँदै आएको थियो।
तर, पटक–पटक अदालतमा उपस्थित हुनुपर्ने भए पनि राखी अनुपस्थित भएपछि अक्टोबर १६ मा उनी र उनको टोलीविरुद्ध गैरजमानती वारेन्ट जारी गरिएको हो।
सिभिल जज जुडिसियल (फास्ट ट्र्याक कोर्ट) की न्यायाधीश अञ्जलीको अदालतले राखी सावन्त र उनको टोलीलाई पक्राउ गरी सन् २०२६ डिसेम्बर १ मा अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको समाचारमा उल्लेख छ।
गैरजमानती वारेन्ट जारी भएपछि प्रतिक्रिया दिँदै राखीले आफू कार्यक्रममा प्रस्तोताका रूपमा मात्रै रहेको र टेलिभिजन च्यानलले जे भन्न लगाउँथ्यो, त्यही बोलेको दाबी गरेकी छन्। उनले जेल जानुपरे पनि तयार रहेको प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यस मुद्दाको आगामी सुनुवाइ डिसेम्बर १ मा हुने बताइएको छ।
















Discussion about this post