श्रावण १६ गते। एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कु टपिट गरेको घटना सार्वजनिक भएको छ ।
रौतहटको गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीमाथि निर्घात कुटपिट भएको हो । वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि स्थानीयले युवकलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा अन्सारीलाई पोलमा बाँधेर मुक्का हानिरहेको दृश्य देखिन्छ ।
वडाअध्यक्ष ताहरिले भने आफूलाई उक्त घटनाबारे विस्तृत जानकारी नभएको बरु बाँधेको डोरी आफैंले फुकाइदिएको जिकिर गरेका छन् ।
वडाध्यक्षले यस्तो दाबी गरिरहँदा सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भने उनी प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन भएर हेरिरहेको दृश्य देखिन्छ । प्रिन्सलाई कुटिरहँदा केही प्रतिक्रिया नदिइकन केही बेरपछि उनी घटनास्थलबाट अन्यत्र गएको दृश्य भिडियोमा देखिएको छ । घटनापछि वडाध्यक्ष ताहिर स्वयं पक्राउ परेका व्यक्तिलाई छुटाउन निरन्तर प्रहरी कार्यालयमा पुगेको पीडितले बताएका छन् ।
सामान्य विषयमा शुक्रबार विवाद भएको निहँुमा स्थानीय २० वर्षीय प्रिन्स अन्सारीलाई विद्युतको पोलमा बाँधेर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न भएको आरोपमा सोही वडाका शहीद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार शहीदको छोरा र भाइ प्रिन्स अन्सारीबीच आइसक्रीम खरीद गर्ने विषयमा भएको विवादलाई लिएर घरमा कोही नभएको मौका छोपेर शनिबारका दिन विद्युतको पोलमा हात बाँधेर प्लास्टिकको पाइपले निर्मम तरिकाले कुटपिट गरेको पीडितका दाई इलियास अन्सारीले आरोप लगाएका छन् ।
स्थानीय मोहम्मद साजिद, उनका बुबा, भाई, बतहा र आश महृम्मद कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु इलियास अन्सारीले बताए।
‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु ।’
कुटपिट गरिरहँदा घटनास्थलमा वडाअध्यक्ष अब्दुल ताहिर त्यहीँ भएको तर उनले कुटपिट गर्ने समूहलाई नरोकेको पीडितका दाजु इलियासले बताएका छन् । इलियासले घटनामा संलग्नविरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम डीएसपी उमाशंकर प्रसाद यादवले पोलमा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।
‘पीडितले अहिलेसम्म लिखित जाहेरी भने दिएका छैनन् । मौखिक रुपमा भनेका छन्,ु उनले भने, ‘हामीले पीडितको घाउ जाँचको प्रक्रिया अघि बढाइसकेका छौं । अब लिखित जाहेरी आएपछि कारबाहीको थप प्रक्रिया अगाडि बढाउँछौं । घटनामा संलग्न अन्यको खोजी गरिरहेका छौं।’















Discussion about this post