महोत्तरी/बैशाख २३ गते। महोत्तरीमा शिक्षिका नै घरेलु हिंसाको सिकार बनेकी छन् । बर्दिबास-३ बस्ने सीता माझी आफ्नै श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलबाट घरेलु हिंसाको सिकार बनेकी हुन् ।
बर्दीबास कै भब्सी आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षिका माझीलाई १९ वैशाखको राति निर्ममतापुर्वक कुटपिट गरि सख्त घाइते बनाइएको छ भने यसअघि पनि निकै प्रताडित बन्दै आएको पीडितले बताएकी छन् । श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार लाइन अफ गरेर अँध्यारोमा विभिन्न घरेलु हतियार प्रयोग गर्दै उनीहरूले आक्रमण गरेका थिए । पटक पटक यस्ता घटना दोहोर्याई रहे तापनि समाजले सहजीकरण गर्दै आएको थियो ।
राहत कोटामा आफै कमाउँदै स्वाम्बलन बनेकी माझी किन हिंसाको सिकार बनिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडिन माझीले श्रीमान विरुद्ध बहुविवाह र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेकी छन । पीडक भनिएका चन्द्रे माझीलाई भने प्रहरीले पक्राउ गरेको छ । माझीलाई पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख विजय यादवले बताए ।
पीडितले अहिलेसम्म जाहेरी ल्याइ नसकेको पनि प्रहरीले जनाएको छ । जाहेरी ल्याएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख यादवले जानकारी दिए ।
यता शिक्षिका नै घरेलु हिंसाको सिकार भएको भन्दै एक प्रेस विज्ञप्ति निकालेर शिक्षक संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सांघातिक आक्रमणसहित ज्यान नै लिने कुकृत्य गर्ने दोषीलाई कडा कारबाहीको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दिबासले घटनाप्रति आपत्ति जनाएको छ ।
नगर कमिटीका संयोजक सुर्यनारायण दास र सचिव टंक प्रसाद पोखरेलले दोषीलाई कारबाहीको दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

Discussion about this post