जनकपुर/बैशाख १७ गते। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस, धनुषाको शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई संबोधन गर्दै उनले उक्त विचार व्यक्त गरेका हुन् । ‘कांग्रेसले जनता समाजवादी पार्टीलाई बारामा जिताउन मद्दत गरेको छ । यसअघि पनि जसपा मधेस सरकारको नेतृत्व गरिसकेको छ । अब कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्नु पर्दछ,’ निधिले भने ।
कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादव र पूर्वसंसदीय दलका नेता रामसरोज यादव मिलेर कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन पहलकदमी गर्न सल्लाह पनि उनले दिए । ‘मधेसमा कांग्रेस नेतृत्वको सरकार बनेसँगै संघमा पनि कांग्रेस नेतृत्वको सरकार बन्छ,’ निधिले भने ।
गठबन्धन सरकारको प्रमुख दायित्व राजनीतिक स्थिरता भएको उल्लेख गर्दै उनले संघमा बनेको सत्ता गठबन्धन पाँच वर्ष चल्ने तथा प्रचण्डपछि माधवकुमार नेपाल र त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा साझा सरकार बन्ने बताए । ‘संविधानले संसद् विघटनको परिकल्पना गरेको छैन । पाँच वर्षसम्म यही संसद् चल्नु पर्दछ । राजनीतिक स्थिरता यसैबाट आउने हो,’ उनले भने ।
चुनावी गठबन्धनले कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरु खुसी नदेखिएको उनको कथन थियो । नेता निधिले भने, ‘२०८४ को चुनाव कांग्रेस एक्लै भिड्नु पर्दछ ।’
प्रदेश सांसद रामसरोज यादवले पार्टी निकट पेशाकर्मीहरुको संगठनलाई भ्रातृ संगठनभन्दा पनि शुभेच्छुक संस्थाको रुपमा काम गर्न आग्रह गरे ।
उद्घाटन सत्रलाई नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्य, नेपाल शिक्षक संघ मधेस प्रदेशका पूर्वअध्यक्ष मेघनाथ यादवसहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।















Discussion about this post