एजेन्सी । हामीले व्यापारिक साझेदारीका अनेकौँ रंगरुप देखेका छौँ । धेरै तरिका र सर्तहरूबिच व्यक्ति–व्यक्ति, व्यक्ति र कम्पनी, कम्पनी–कम्पनीले पार्टनरसिपमा व्यापार गरिरहेका प्रशस्तै उदाहरण भेटिन्छन् ।
तर, भारतमा एक त्यस्ता भगवान छन् जोसँग मानिसहरू पार्टनरसिपमा व्यापार गर्छन् । रोचक त यो छ की यो पार्टनरसिप बकाइदा लिखितरुपमा घोषणा गरिन्छ । सम्झौता पत्रमा उल्लेख भएअनुसार मुनाफाको हिस्सेदारी र बाँडिन्छ ।
ती भगवानको नाम हो, सावलिया सेठ । भारतको राजस्थान स्थित चित्तौडगढमा रहेको यो मन्दिरमा भक्तजनहरू गएर भगवानसँग पार्टनरसिप गर्छन् । उनीसँगको पार्टनरसिपमा आफ्नो मुनाफाको २० प्रतिशतसम्म हिस्सा बाँड्ने सम्झौता गरेर व्यापारीहरू फर्कने गरेका छन् ।
श्रद्धालुहरूलाई यो विश्वास छ की कुनै पनि पार्टनरले व्यापारमा नाफा घाटा जे मा पनि हिस्सेदारी लिन्छ त्यसैगरि भगवान सावलिया सेठले पनि शुखदुखमा साथ दिन्छन् । व्यापारीहरूले उनीसँगको सम्झौता गर्दा सुरुमै सङ्कल्प गरेर जान्छन् र दान पत्रमा केही रकमसहित भगवानसँग गरेको सम्झौता पत्र लेखेर दान पेटिकामै छिराउने गर्छन् ।
हरेक महिना यो दान पत्र खोल्ने गरिन्छ । यसरी व्यापारीहरूले स्वविवेकका गरेको सम्झौता पत्र मन्दिरमन्डलले आफ्नो साथ राख्ने गर्छन् । जब मानिसहरूले आफ्नो व्यापारमा मुनाफा कमाउँछन् उनीहरू आफै हिसाब गरेर भगवानको भागको मुनाफा ल्याएर दिने गर्छन् ।
यसरी सावलियासँग मानिसहरूले साझेदारी गर्न थालेको घटना पनि रोचक छ, के विश्वास गरिन्छ भने नरसी भगत नाम गरेको एक सन्त थिए । उनी धेरै नै गरिब थिए । तर, भगवान कृष्णका भने अनन्य भक्त थिए । उनका छोराको नाम थियो, साम्बला दास भगत । कुनै एउटा घटनामा उनको छोराको अचानक मृत्यु भयो । छोरीको विवाहको कुरा गरिरहेका थिए ।
त्यसै बेला छोरीको विवाह हुने परिवारको तर्फबाट दाइजोको एउटा निकै लामो सूची उनको हातमा थमाइयो । उनी गरिब भएका कारण छोरीको विवाह समेत समस्यामा पर्ने भएपछि मानिसहरूले उनको खिल्ली उडाए । यो सबै घटना भइरहँदा नरसी भगतले भगवान कृष्णलाई सम्झे र भने आज मेरो यो समस्याको हल गर्न तिमी आफै आउनु पर्छ । त्यसरी आफ्नो भक्तजनले स्मरण गरेपछि भगवान द्वारिकाबाट रानीहरूसहित गए । र, उनकी छोरीको भव्यताका साथ विवाह सम्पन्न गराए ।
यहि घटनापछि त्यहाँका मानिसहरूले उनको नाम सावलिया सेठ राखे । किनकि उनको छोराको नाम साम्बला दास थियो । जब छोरीको विवाहको बेला दुलहीका दाजुभाइले उनलाई दाइजो प्रदान गर्ने चलन रहेको हुँदा भगवान श्री कृष्णलाई नै उनको भाइको नाम साम्बलाले पुकार्न थालियो । र, त्यो मन्दिरलाई सावलिया सेठ भन्न थालियो ।
विगत १५० वर्षदेखिको यो मान्यता र व्यापारीको भगवानसँगको साझेदारी अहिलेसम्म पनि कायम छ । धेरैजसो किसानहरू सावलियो सेठसँग साझेदारी गर्छन् । यसरी त्यहाँ भगवानले हरेक महिना सात करोड भन्दा बढी भारतीय रुपैयाँ प्राप्त गर्ने गर्छन् । र, यसरी भगवानसँग साझेदारी गर्ने मानिसहरू त्यसमा आफ्नो ठाउँ ठेगानासमेत लेख्दैनन् । तर, भगवानले साझेदारीमा नाफाकोरुपमा एक किलो सुनको बिस्कुटदेखि लिएर विश्वका सबैजसो महँगा मुद्राहरू समेत प्राप्त गरिसकेका छन् ।
Discussion about this post