जनकपुरधाम,माघ २० गते।प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टु सार्वजनिक गरेका हुन्।
दुबै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्षभित्र गर्नुपर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएको बताए। यसले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने उनको भनाइ छ।
पछिल्लो तीन वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अबको दिनमा गौरबका योजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री राउतले बताए। मुख्यमन्त्री राउतले प्रदेशको गौरबकै योजनाको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको भन्दै उक्त कार्य प्रदेशको स्वास्थ्य क्षेत्रमा माइल स्टोन सावित हुने विश्वास व्यक्त गरे।
उनले प्रतिष्ठान मात्र नभई जिल्लास्थित अस्पतालहरुलाई समेत जनताको भरोसाको केन्द्र बनाउन लागिपरेको बताए। प्रदेशको शैक्षिक सुधारका लागि संघीय नीति बाधक रहेको बताउँदै मुख्यमन्त्री राउतले हाललाई विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी समेत अघि बढाइसकेको जानकारी गराए।
नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितको टिमले गर्दै आएको कामको प्रशंसा समेत गरे।
कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झाले आवधिक योजना सार्वजनिक गरेको आयोगले अब प्रदेशको प्रोजेक्ट बैंक निर्माणको कार्यलाई अघि बढाइसकेको र प्रदेशको गौरबको योजनाहरु समेटेर केही महिनाभित्रै प्रोजेक्ट बैंक समेत सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।





















Discussion about this post