सुभाष कायस्थ/जनकपुरधाम/असोज २३ गते। निर्वाचित भएको चार वर्षमा पनि जनकपुरधाम उपमहानगपालिकाका मेयर मनोज साहले चुनावता गरेको २१ बुँदे प्रतिबद्धतामा एउटा पनि पुरा गर्न नसकेको आरोप लाग्न थालेको छ ।
उपमहानगरपालिकालाई सशक्त, प्रभावशाली र परिणाममुखी स्थानीय सरकारका रूपमा विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहमाथि आफ्नै २१ बुँदे चुनावी प्रतिबद्धता पूरा गर्न नसकेको भनी स्थानीयले आरोप लगाउन थालेको छ ।
मेयर साहले निर्वाचनका बेला जनकपुरधामलाई स्वच्छ, सुन्दर, सुरक्षित, व्यवस्थित र समृद्ध सहर बनाउने भन्दै फोहोर व्यवस्थापनदेखि सडक, खानेपानी, सार्वजनिक यातायात, कृषि, रोजगार, पर्यटन, शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन र सामाजिक सुरक्षासम्मका विषय समेटेर २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
उनले तत्काल ल्यान्डफिल साइट निर्माण सुरु गर्ने, प्रत्येक वडामा फोहोर संकलन केन्द्र स्थापना गर्ने, फोहोरबाट ऊर्जा तथा कम्पोस्ट मल उत्पादनसहित फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने घोषणा गरेका थिए । तर चार वर्ष बितिसक्दा पनि ल्यान्डफिल साइट निर्माण तथा वडा तहमा व्यवस्थित फोहोर संकलन केन्द्र स्थापना हुन नसकेको र जनकपुरधामका विभिन्न स्थानमा फोहोर तथा दुर्गन्धको समस्या कायमै रहेको स्थानीयको आरोप छ ।
जनकपुरधाम–६ का रामकुमार साह मेयरको सबैभन्दा प्रमुख चुनावी मुद्दा नै जनकपुरधामलाई स्वच्छ र फोहोरमुक्त बनाउने रहेको स्मरण गर्दै अहिले पनि नगर फोहोर र दुर्गन्धले प्रभावित भएको बताउँछन् । उनका अनुसार न ल्यान्डफिल साइट निर्माण भएको छ, न वडा–वडामा व्यवस्थित फोहोर संकलन केन्द्र स्थापना भएको छ। “चुनावका बेला स्वच्छ र फोहोरमुक्त जनकपुरधाम बनाउने प्रतिबद्धता थियो, तर अहिले पनि नगरको अवस्था उस्तै छ,” उनको आरोप छ ।
स्थानीय भन्छन्- चार वर्षमा पनि पूरा भएन प्रतिबद्धता
नागरिक समाजका अगुवा नेता दिपु सनातनले पनि मेयर साहले निर्वाचनका क्रममा गरेका प्रमुख प्रतिबद्धतामध्ये कुनै पनि प्रभावकारी रूपमा पूरा हुन नसकेको दाबी गर्छन् । उनका अनुसार प्रत्येक वडामा फोहोर संकलन केन्द्र, ल्यान्डफिल साइट निर्माण, २५ वटै वडालाई सडक सञ्जालले जोड्ने तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, व्यवस्थित तरकारी बजार र पशुवधशाला निर्माण गर्ने लगायतका महत्वपूर्ण घोषणा कार्यान्वयन हुन सकेका छैनन् ।
मेयर साहले जनकपुरधामका सडकपेटी व्यवस्थित गरी व्यवसायी तथा पर्यटकमैत्री बनाउने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरण गर्ने तथा जनकपुरधामका धार्मिक तथा सांस्कृतिक सम्पदाको खोज, अध्ययन र अनुसन्धान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमार्फत पर्यटनलाई आर्थिक गतिविधिको प्रमुख आधार बनाउने घोषणा गरेका थिए ।
रंगभूमि मैदानलाई स्वच्छ, सफा र हराभरा बनाउने तथा विभिन्न पोखरीको सरसफाइ र सौन्दर्यीकरण गर्ने योजना पनि उनले अघि सारेका थिए । तर यी विषयमा समेत अपेक्षित परिणाम देखिन नसकेको आलोचकहरूको भनाइ छ ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकालाई सुरक्षित बनाउन आवश्यक स्थानमा २४ घण्टा निगरानी हुने गरी सीसीटीभी क्यामेरा जडान गर्ने तथा सबै वडालाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने प्रतिबद्धता पनि कार्यान्वयन हुन नसकेको आरोप छ ।
जनकपुरधाम–५ का श्याम साहका अनुसार अहिलेसम्म प्रतिबद्धताअनुसार प्रभावकारी रूपमा सीसीटीभी तथा निःशुल्क वाइफाइ सेवा सञ्चालन हुन सकेको छैन। नगरका विभिन्न स्थानमा व्यवस्थित बजार निर्माण गर्ने घोषणा गरिए पनि नयाँ बजार निर्माण गर्नुको सट्टा विद्यमान बजारसमेत अतिक्रमण हटाउने नाममा विस्थापित गरिएको उनको आरोप छ ।
मेयर साहले जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र पर्यटकीय सहर तथा क्षेत्रसँग जनकपुरधामलाई हवाई सेवामार्फत जोड्ने पहल गर्ने प्रतिबद्धता पनि गरेका थिए । त्यसैगरी उपमहानगरपालिकालाई भविष्यमा महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसहित भौतिक तथा मानवीय पूर्वाधार निर्माणको तयारी गर्ने घोषणा गरिएको थियो। तर यी विषयमा समेत अपेक्षित प्रगति नदेखिएको स्थानीयको गुनासो छ ।
उपमहानगरपालिकाको कामकारबाही पारदर्शी बनाउने, नियमित रूपमा सार्वजनिक जानकारी दिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, प्रशासनिक संयन्त्र चुस्त बनाउने तथा सेवाग्राहीको गुनासा तत्काल समाधान गर्न हटलाइन सञ्चालन गर्ने प्रतिबद्धता पनि चुनावी घोषणापत्रमा समेटिएको थियो । तर मेयर साहमाथि उपमहानगरपालिकाको कामकारबाहीमा पारदर्शिता कायम गर्न नसकेको तथा योजना र ठेक्कापट्टाका विषयमा समेत प्रश्न उठ्ने गरेको आरोप लाग्दै आएको छ ।
जनकपुरधाम–४ का विनोद यादवले मेयर साह कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा २१ बुँदे प्रतिबद्धतासहित चुनावमा आएको र जनताले जनकपुरधामको विकास हुने विश्वासका साथ उनलाई मत दिएको बताए । तर निर्वाचनपछि प्रतिबद्धता कार्यान्वयन गर्नुको सट्टा आफ्ना आसेपासेलाई योजना तथा ठेक्कापट्टा दिने र कमिसन तथा करार कर्मचारी भर्नामै केन्द्रित भएको उनको आरोप छ ।
मेयर साहले लामखुट्टे नियन्त्रणका लागि दीर्घकालीन नीति बनाउने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक पहुँच विस्तार गर्ने, आधुनिक फलमण्डी निर्माण गर्ने, क्षतिग्रस्त खानेपानी पाइपलाइन व्यवस्थित गर्ने, आवासविहीन अतिविपन्न नागरिकलाई घर निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता पनि उनले गरेका थिए । तर स्थानीयका अनुसार यी योजनाको कार्यान्वयनमै आएको छैन ।
जनकपुरधामका २५ वटै वडामा सुलभ शौचालय निर्माण गर्ने, आधुनिक तथा व्यवस्थित तरकारी बजार र पशुवधशाला निर्माण गर्ने, अत्याधुनिक बसपार्क निर्माणका लागि पहल गर्ने, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा तथा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने तथा स्वास्थ्य संस्थाको गुणात्मक र संरचनात्मक विकास गर्ने प्रतिबद्धता पनि साहले गरेका थिए । तर स्थानीयहरू यीमध्ये धेरै प्रतिबद्धता अझै प्रतिबद्धता पत्रमै सीमित रहेको दाबी गर्छन् ।
मेयर साहको राजनीतिक भूमिकालाई लिएर समेत स्थानीयस्तरमा आलोचना भइरहेको छ । जनकपुरधाम–१७ का दिपक यादवका अनुसार कांग्रेसबाट टिकट नपाएपछि साह स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा आएका थिए र स्वतन्त्र उम्मेदवारका रूपमा अघि सारेका २१ बुँदे प्रतिबद्धतामाथि विश्वास गर्दै जनताले उनलाई अत्यधिक मतले विजयी गराएका थिए । तर निर्वाचित भएपछि एक महिना पनि नपुग्दै कांग्रेसकै ब्यानरमा शपथ ग्रहण गरेको आरोप उनले लगाएका छन् ।
चार वर्षको कार्यकाल बितिसक्दा पनि चुनावी प्रतिबद्धताअनुसार जनकपुरधामको फोहोर व्यवस्थापन, सडक तथा सार्वजनिक यातायात, खानेपानी, रोजगार, कृषि, पर्यटन, बजार व्यवस्थापन, सुरक्षा, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा अपेक्षित परिवर्तन नआएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म आलोचना बढिरहेको स्थानीयको भनाइ छ । नागरिक समाजका अगुवाहरूले अब मेयर साहले चुनावका बेला सार्वजनिक गरेका २१ बुँदे प्रतिबद्धतामध्ये कुन–कुन काम पूरा भए, कुन–कुन प्रक्रियामा छन् र कुन काम हुन सकेनन् भन्ने विषयमा स्पष्ट प्रगति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।















Discussion about this post