उमेश कुमार साह,सप्तरी।अहिले मधेस छठमय भएको छ । डोम जाति बाँसको चोयाले डाला, सुपली, पनपथिया बुन्न व्यस्त छन् । छठमा सूर्यलाई अघ्र्य दिन डोमले बनाएका बाँसका सामग्री प्रयोग हुन्छन् ।सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न ०६ को सुरज मरिक (डोम) को परिवारलाई अचेल भ्याइनभ्याइ छ । ६ जनाको परिवार पछिल्लो एक महिनादेखि दिनरात काममा जुटिरहँदा पनि मागबमोजिम सामग्री तयार गर्न नसकेको उनी बताउँछन् ।
‘छठ पर्वका लागि ठूलो संख्यामा नाङ्लो, ढकिया, कोनियालगायत सामग्रीको माग छ,’ गत शुक्रबार साँझ आफ्नो घरअगाडि काम गर्दै गर्दा भेटिएका उनले भने, ‘शनिबार बिहानसम्म जसरी भए पनि सबै ग्राहकलाई चाहिए जति सामग्री पुर्याउनुपर्ने हुन्छ ।बोदे बर्साईन नगरपालिकामा विभिन्न वार्ड जस्तै फुलहरा,खडकपुर,नेगडा,मल्हनिया ,बरहा ,कुशमुहार नजिकका बस्तीहरूमा आफ्ना एक सयजति ग्राहकलाई अझै बाँसका सामान उपलब्ध गराउन बाँकी रहेको राजकुमारसँगै काम गरिरहेकी उनकी आमा मंगली मरिकले सुनाइन् ।
‘बिहान २ बजेदेखि नै काम थाल्छौं,’ उनले भनिन्, ‘छोरा, बुहारी, नाति, नातिनी सबै मिलेर काम गरिरहेका छौं ।’राजकुमार मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने प्रायः डोमको अचेल व्यस्तता बढेको छ । छठ पर्वका लागि बाँसका सामग्रीको माग बढेकै कारण उनीहरूलाई भ्याइनभ्याइ भएको हो ।
डोम जातिमाथि भइरहेको सामाजिक विभेदलाई अन्त्य गर्न उद्देश्यले चर्चित गीतकार धीरेन्द्र प्रेमर्षीले एक गीत लेखे–
‘हमरे डाला पनपथिया सँ, देबतो पितर पूजाई छै । कहु यौ बाबु तैयो हमर देहिन किया छुवाई छै । मेहनत हमर चलै छै सगरो, मुद्दा चलै नै पाइन यौ ।।’
अर्थात्, ‘मेरै डाला ढाकीले ईश्वर पूजिन्छ, तैपनि मेरो जीउ किन छोइन्छ । मेरो मेहनत सबै ठाउँमा चल्छ, तर पानी किन चल्दैन ?’
यो गीतमा गायक रामा मण्डलले स्वर दिए । गायिका रूपा झाले रामाको स्वरमा स्वर थपिन् । डोमहरूको तात्कालीन परिस्थितिलाई इंगित गर्दै उनले गीत गाएका थिए ।
राजतन्त्र हुँदै देश गणतन्त्रमा आइसक्यो । तन्त्र फेरियो, तर डोम जाति अझै पनि छुवाछूतबाट प्रताडित छन् ।
तिनै डोमले बनाएको बाँसको सामग्रीले देवता पूजिन्छ । गाउँमा मान्छे बिते शव जलाउन गाउँलेहरूले डोमबाट आगो किन्ने परम्परा छ ।
समाजमा गरिने छुवाछूतको व्यवहारले ४ दशकदेखि स्नेही पिरोलिँदै आएका छन् । ‘गाउँमा श्रम, सीप र मेहनत चल्छ । तर छोएको पानी चल्दैन,’ उनले गुनासो गरे ।
डोमले बनाएको पवित्र डाला, नाङ्लो, सुपलीमा अघ्र्य दिए छठ निष्ठापूर्वक गरेको विश्वास गरिन्छ ।
उनले भने ‘हाम्रै हातको आगोले दाहसंस्कार गर्दा पुण्य हुन्छ । तर मानिस हामीलाई छुन पनि हिच्कचाउँछन् ।’
बजारमा प्लास्टिकका सामग्री आएदेखि बाँसका सामग्री बिक्री हुन छाडेको फुलो मरिक बताउँछिन् । उनले भनिन्, ‘चार्ड पर्वबाहेक अरूबेला बाँसका सामग्री नै बिक्दैनन् ।’
जातीय विभेद गर्नेलाई कडा कारबाही गर्नुपर्ने दलित अधिकारकर्मीको माग छ । ‘मन्दिरमा कुकुरलाई पनि निषेध गरिँदैन । तर हामी कथित तल्लो जातिका मानिसलाई पस्न दिइँदैन’, उनले भने, ‘जातीय विभेद गर्नेलाई ज्यान मार्नेसरह कारबाही गर्ने कानुन बनाउनुपर्छ ।’
मिथिला संस्कृतिका जानकार धीरेन्द्र पे्रमर्षीले डोम जाति समाजको अभिन्न अंग रहेको बताए ।
‘कलात्मक बाँसको सामग्री बनाउँछन्, उनीहरू इन्जिनियर नै हुन्’, उनले थपे, ‘उनीहरूले बनाएको सामग्रीबाटै दैनिकी चल्छ । यति ठूलो काम गर्नेलाई विभेद गर्नु व्यावहारिक होइन ।’
Discussion about this post