काठमाडौं।प्रहरीले एक युवतीको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पाँच वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर पाउँपालिका–५, लक्ष्मीपुरका २४ वर्षीय रविकुमार यादव छन्।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बिहीबार काठमाडौंको मैतीदेवीबाट पक्राउ गरेको हो। उनलाई सुनसरीको ईटहरी नगरपालिका–४ घर भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्या गरेको अभियोग छ।
१५ वैशाख २०७२ को बिहान करीब ९ः३० बजे ललिपुरको गोदावरी नगरपालिका–५, लेले फैडोल सामुदायिक वनमा आरतीको हत्या भएको प्रहरीले जनाएको छ।
महानगरीय अपराध मशाहाशा प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आरतीको हत्या गरि फरार रहेका यादव भारतको बैंग्लोरमा लुकीछिपी बस्दै आएका थिए। उनलाई पच्छ्याइरहेको प्रहरीले यादव केहीदिन पहिले काठमाडौं आएपछि पक्राउ गरेको हो।
पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ।
के थियो घटना ?
प्रहरी स्रोतका अनुसार आरती र रविकुमार प्रेम सम्बन्धमा थिए। आरती विवाहित थिइन् भने रवि अविवाहित थिए। रविसँगको सम्बन्धका विषयमा आरतीका श्रीमानलाई पनि थाहा थियो। पछिल्लो समय आरती अर्का एक व्यक्तिसँग प्रेम सम्बन्धमा रहेको रविले चाल पाए।
सोही सम्बन्धका कारण रविसँग उनको विवाद हुन थाल्यो। त्यसअघि रविसँगको सम्बन्धका विषयमा श्रीमानसँग पनि विवाद हुँदै आएको थियो। जसका कारण रवि र आरतीको सम्बन्धमा बेलाबेला खटपट हुने गरेको थियो। तर, श्रीमानसँग भन्दा रविसँग उनको धेरै विवाद हुन थाल्यो।
रवि र आरतीका श्रीमान् चिनजानकै व्यक्ति भएको प्रहरी स्रोत बताउँछ। तेस्रो व्यक्तिसँगको सम्बन्ध राखेको आरोपमा रवि र आरतीका श्रीमान मिलेर उनको हत्या योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
सोही अनुसार उनीहरूले १५ वैशाख २०७२ बिहान लेलेको फैडोल सामुदायिक वनमा आरतीको हत्या गरेर दुवैजना फरार रहेको प्रहरी बताउँछ।
हत्यामा संलग्न रहेको भनिएका आरतीका श्रीमानविरुद्ध अपराध महाशाखाले ‘रेडकर्नर नोटिस’ समेत जारी गरिसकेको छ। तर, उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरीका अनुसार उनी विदेशमा छन्।
साभार-हिमाल खबर
Discussion about this post