जनकपुरधाम/कार्तिक २७ गते। छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका छठ व्रतालुहरूलाई पूजासामग्री वितरण गरेको छ।
वडा कार्यालयको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा छठ पर्व मनाउन आवश्यक विभिन्न सामग्रीहरू व्रतालुहरूलाई प्रदान गरिएको हो। वडाले विपन्न परिवारका व्रतालुहरूलाई साडी, नरिवललगायत छठ पूजामा प्रयोग हुने सामग्री वितरण गरेको जनाएको छ।
पूजासामग्री वितरण गर्दै वडा अध्यक्ष निरज साहले आर्थिक अभावका कारण कुनै पनि परिवारलाई छठ पर्व मनाउन कठिनाइ नहोस् भन्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए।
उनका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरी पूजासामग्री वितरण गरिएको हो। यसबाट विपन्न परिवारलाई पर्व मनाउन केही राहत पुग्ने विश्वास उनले व्यक्त गरे।
छठ पर्वमा व्रतालुहरूले कठोर उपवास तथा नियमपालना गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्यदेव तथा छठी माताको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। विशेषगरी मिथिलाञ्चलमा श्रद्धा, आस्था र निष्ठाका साथ मनाइने यस पर्वमा पूजासामग्रीको विशेष महत्व रहने गर्दछ।
आर्थिक कठिनाइका कारण पर्वका लागि आवश्यक सामग्री जुटाउन नसक्ने परिवारलाई वडा कार्यालयको सहयोगले छठ पर्व मनाउन सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा वडा सचिव अनिता साह, वडा सदस्यहरू प्रशुराम झा, हिजरत अलि, रामकली देवी, फूलकुमारी साह तथा समाजसेवी बैजु साह, सन्तोष साह, मनिष साह र कृश साहलगायतको उपस्थिति रहेको थियो।

















Discussion about this post