गिरिजानन्द साह/जनकपुरधाम/असोज २० गते। जनकपुरधाम जेसिजले युवाको नेतृत्व क्षमता विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी जेसीज सप्ताह सुरु गरेको छ।
सोमबार आयोजित शुभारम्भ कार्यक्रममा जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी भवेश झाको अध्यक्षता तथा जनकपुरधाम जेसिज वर्ष २०१० का अध्यक्ष संजय प्रसाद साहको प्रमुख आतिथ्यमा जेसीज सप्ताहको औपचारिक शुभारम्भ गरिएको हो।
जेसीज सप्ताहको पहिलो दिन जनकपुरधामस्थित मानवसेवा आश्रममा फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आश्रममा रहेका व्यक्तिहरूका लागि खाद्यान्न वितरण तथा दिवाभोजको व्यवस्था गरिएको जनकपुरधाम जेसिजले जनाएको छ।
जनकपुरधाम जेसिजका वर्ष २०२६ का महासचिव मनोहर ठाकुरका अनुसार जेसीज सप्ताहअन्तर्गत सात दिनमा सातवटा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। युवाको नेतृत्व क्षमता विकाससँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको उनले बताए। जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष भवेश झाले जेसीजले युवाहरूलाई नेतृत्व विकासका अवसर प्रदान गर्नुका साथै सामाजिक सेवाका गतिविधिलाई समेत निरन्तरता दिँदै आएको बताए।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्लो बाइक रेस, स्टेसनरी डिस्ट्रिब्युसन, जेसिज क्रिकेट कप, स्कुल लेभल ओरेट्री कन्टेस्ट, ड्रग एब्युज अवेयरनेस लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ। सप्ताहको समापन असोज २४ गते शनिबार गरिनेछ।
जेसीज सप्ताहको मूल आयोजक समितिका अध्यक्ष तथा जनकपुरधाम जेसिजका कार्यकारिणी उपाध्यक्ष राम सोगारथ साहले सप्ताहव्यापी कार्यक्रममार्फत युवाको क्षमता विकाससँगै सामाजिक सेवाका क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताए।















Discussion about this post