सिरहा/मंसिर ६ गते। सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार साँझ मिर्चैया नगरपालिका–६ स्थित मिर्चैया–कटारी सडकखण्डमा रहेको होलिडे होटल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले कटारीतर्फ जाँदै गरेको प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय दिलीपकुमार सिंह र २८ वर्षीय रज्जितकुमार सिंह दनुवार रहेका छन् । प्रहरीका अनुसार दिलीपले मोटरसाइकल चलाएका थिए भने रज्जित पछाडि सवार थिए ।
प्रहरीले दुवै जनाको शरीर तलासी गर्ने क्रममा रज्जितले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीबाट कालो प्लास्टिकका तीनवटा पोका फेला पारेको थियो । ती पोकाबाट ब्राउन सुगरजस्तो देखिने ४० ग्राम ४१० मिलिग्राम पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यसैगरी, उनीहरूको साथबाट इन्फिनिक्स र आइफोन कम्पनीका एक–एक थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषध तथा मोबाइलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post