जनकपुरधाम/मंसिर ६ गते । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको स्मरणमा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्वको सीताराम विवाह पञ्चमी महामहोत्सव यस वर्ष मंसिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने भएको छ ।
श्री जानकी मन्दिर तथा विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिको आयोजनामा मंसिर २३ देखि २९ गतेसम्म साताव्यापी रूपमा महोत्सव मनाउन लागिएको हो ।
महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर, शुभविवाह तथा रामकलेवासहितका धार्मिक एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाह पञ्चमी जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए ।
उनले भगवान् श्रीराम र माता सीताको विवाह उत्सवमा सहभागी हुन स्वदेश तथा विदेशका श्रद्धालु भक्तजनलाई आमन्त्रण गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
यस्तो छ साताव्यापी महोत्सवको कार्यक्रम तालिका
आयोजकका अनुसार मंसिर २३ गते बुधबार अपराह्न ५ बजेदेखि जानकी मन्दिर प्राङ्गणबाट नगर दर्शन कार्यक्रम सुरु हुनेछ । मंसिर २४ गते फूलबारी लीला र २५ गते बाह्रबिघा मैदानमा धनुष यज्ञ आयोजना गरिनेछ ।
त्यस्तै, मंसिर २६ गते तिलकोत्सव र २७ गते गंगासागरमा मटकोर कार्यक्रम हुनेछ ।
मंसिर २८ गते विवाह पञ्चमीको मुख्य दिन रंगभूमि मैदानमा स्वयंवर कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि साँझ ६ बजेदेखि जानकी मन्दिर प्राङ्गणमा भगवान् श्रीराम र माता सीताको शुभविवाह सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
मंसिर २९ गते रामकलेवा आयोजना गरी साताव्यापी महोत्सवको समापन गरिनेछ ।
यसैबीच, विवाह पञ्चमी महोत्सवको पूर्वतयारीस्वरूप मंसिर १६ देखि २२ गतेसम्म जानकी मन्दिर प्राङ्गणमा श्रीमद्भागवत महायज्ञसमेत सञ्चालन हुनेछ । बालव्यास पूज्य हरिशरण जी महाराजबाट हुने भागवत कथावाचन दैनिक अपराह्न ३ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवकै अवसरमा मंसिर २५ गते सीताराम गौशालाबाट १११ मिटर लामो चुनरी जानकी मन्दिरमा चढाउने कार्यक्रमसमेत तय गरिएको छ । साथै, मंसिर २३ देखि २८ गतेसम्म जानकी मन्दिर प्राङ्गणमा रामलीला प्रदर्शन गरिनेछ ।
उत्तराधिकारी महन्थ दासले विवाह पञ्चमीमा सहभागी हुन जनकपुरधाम आउने श्रद्धालु तथा अतिथिहरूलाई स्थानीयवासीले आफ्नो क्षमताअनुसार आवास, भोजन तथा अन्य सेवामा सहयोग गर्न आग्रह गरेका छन् ।
महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित विभिन्न स्थानबाट साधुसन्त, महन्थ, श्रद्धालु तथा पर्यटकहरू जनकपुरधाम आउने अपेक्षा गरिएको छ ।
भगवान् श्रीराम र माता सीताको विवाहको प्रतीकात्मक उत्सवका रूपमा मनाइने विवाह पञ्चमी महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै मिथिलाको कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

















Discussion about this post