जनकपुरधाम/साउन ३० गते । एन्टिबायोटिक चिकित्सकको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्न जनचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा नेपालकै पहिलो एन्टिबायोटिक सचेतना वाकाथन आयोजना गरिएको छ।
शनिबार बिहान रामानन्द चोकबाट सुरु भएको वाकाथनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री नागेन्द्र साह, अर्थ मन्त्री युवराज भट्टराई सहित चिकित्सक, स्वास्थ्यकर्मी, युवा, विद्यार्थी, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता थियो।
वाकाथनमार्फत ‘सही औषधि, सही प्रयोग’ र ‘रोज कुरा गरौ रोज कुरा गरौ डाक्टरले भनेको डोज पूरा गरौँ’ भन्ने सन्देश दिइएको थियो। सहभागीहरूले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक प्रयोग नगर्न तथा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्न आग्रह गरेका थिए।
कार्यक्रममा चिकित्सकहरूले एन्टिबायोटिकको जथाभावी प्रयोगका कारण एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) बढ्दै गएको भन्दै समयमै नियन्त्रण गर्न नसके भविष्यमा सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्ने बताएका छ्न । साथै सम्भावित ‘पोस्ट–एन्टिबायोटिक इरा’को जोखिम रोक्न सरकार, स्वास्थ्यकर्मी, औषधि व्यवसायी र आम नागरिक सबै सचेत हुनुपर्नेमा जोड दिएका छ्न ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले एन्टिबायोटिकको विवेकहीन प्रयोग स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको बताए। उनले चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै यस्ता जनचेतनामूलक अभियानलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने धारणा राखे।
स्वास्थ्य मन्त्री नागेन्द्र साहले एन्टिबायोटिकको सही प्रयोगसम्बन्धी जनचेतना घर–घरमा पुर्याउनुपर्ने बताए। उनले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री तथा प्रयोग नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै स्वास्थ्य क्षेत्रका सबै सरोकारवालालाई अभियानमा सहकार्य गर्न आग्रह गरे।
अर्थ मन्त्री युवराज भट्टराईले स्वस्थ नागरिक र सुरक्षित समाज निर्माणका लागि यस्ता जनचेतनामूलक अभियान महत्वपूर्ण रहेको बताए। उनले एन्टिबायोटिकको दुरुपयोग रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
अभियानका अभियन्ता तथा अमेरिकामा कार्यरत Kalkiism Research and Training Center का प्रमुख जय साहले वाकाथनले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रणका लागि सरकारलाई स्पष्ट सन्देश दिएको बताए।
उनका अनुसार आगामी ३० दिनपछि आयोजना हुने अर्को वाकाथनमा हजारौँ युवासहित ५०० भन्दा बढी चिकित्सक सहभागी गराउने लक्ष्य राखिएको छ। अभियानलाई व्यापक बनाउन जनकपुरधामका विभिन्न सडकमा स्वागतद्वार निर्माण गर्ने योजना पनि रहेको उनले जानकारी दिए।
आगामी तीन महिनाभित्र जनकपुरधाममा व्यापक जनचेतना निर्माण गर्दै चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्रीमा प्रभावकारी नियन्त्रणका लागि जनस्तरबाटै माग सिर्जना गर्ने लक्ष्य अभियानले लिएको साहले बताए।
वाकाथनमा सहभागीहरूले ‘डाक्टरको पुर्जाबिना एन्टिबायोटिक—स्लो प्वाइजनको टिक–टिक’ लगायतका सन्देशसहितका प्लेकार्ड बोकेर जनचेतना फैलाएका थिए। आयोजकले जनकपुरधाममा सफल बनाई यस अभियानलाई आगामी दिनमा देशका अन्य शहरमा समेत विस्तार गर्ने जनाएको छ।















Discussion about this post