काठमाडौं/साउन ८ गते । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म ठूलो घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीले जेनजी आन्दोलनबाट सिर्जित क्षतिको दाबी भुक्तानीका कारण वित्तीय नतिजामा ठूलो दबाब परेको जनाएको छ। यसै प्रभावले रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ, जबकि अघिल्लो वर्ष यही शीर्षकमा ९३ करोड ३७ लाख रुपैयाँ बचत थियो।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२३ प्रतिशतले घटेर ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि १८.०१ प्रतिशतले घट्दै ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँमा झरेको छ।
यद्यपि कम्पनीले विशेष रिजर्भ ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ र महाविपत्ति कोष ४२ करोड ७६ लाख रुपैयाँ यथावत् राखेको छ।
व्यवस्थापनका अनुसार कम्पनीले स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय पुनर्बीमकको छवि कायम राखे पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट, आर्थिक गतिविधिमा आएको सुस्तता र विश्वव्यापी आर्थिक अनिश्चितताले लगानी प्रतिफल तथा बीमा व्यवसायको विस्तारमा चुनौती थपेको छ। कम्पनीले आगामी दिनमा लगानी विविधीकरणलाई प्राथमिकता दिने जनाएको छ।















Discussion about this post