बारा/साउन ४ गते। बाराको प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ घर भई हाल प्रसौनी–५ बहुअरी टोलमा डेरा गरी बस्दै आएका ३३ वर्षीय महेश पटेल रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब ११ बजे खाना पकाइरहेका बेला ग्याँस सिलिन्डरबाट ग्याँस चुहिएपछि अचानक आगलागी भएको थियो। आगोले उनको अनुहार, छाती, ढाड तथा दुवै हात जलेको छ।
घाइते पटेलको पर्सास्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका क्रममा आफन्तको साथ रहेको प्रहरीले जनाएको छ।
घटनाबारे राति ११ः५९ बजे गण्डक अस्पतालबाट इलाका प्रहरी कार्यालय प्रसौनीलाई सूचना प्राप्त भएपछि वरिष्ठ सई विनोद रानामगरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।














Discussion about this post