धनुषा/असार १९ गते । बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निडको नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित ‘सुरक्षा र न्याय’ परियोजनाको सिकाई तथा उपलब्धी मधेश प्रदेशका जनकपुरधाम सहित पाँच स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
जुन २०२४ देखि जुन २०२६ सम्म सञ्चालन भएको परियोजनाको उपलब्धि हस्तान्तरण कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर र लोहारपट्टी, बाराको सिम्रौनगढ तथा सर्लाहीको बरहथवा नगरपालिकामा सम्पन्न भएको हो।
जनकपुरधाममा आयोजित कार्यक्रममा पिपुल इन निडका परियोजना प्रबन्धक सुनिलकुमार साह र दिव्य विकास स्रोत केन्द्रका परियोजना प्रबन्धक गणेश ठकुरीले परियोजनाबाट प्राप्त सिकाइ, उपलब्धि तथा अन्तिम प्रतिवेदन नगर प्रमुख मनोज कुमार साहलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा परियोजना प्रबन्धक सुनिलकुमार साहले परियोजनाबाट प्राप्त उपलब्धिलाई स्थानीय सरकारले संस्थागत गर्दै दीगो रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले न्यायिक समितिको सुदृढीकरण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समावेशी शासन प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय तहले निरन्तरता दिनुपर्ने बताए।
प्रमुख अतिथि नगर प्रमुख मनोज कुमार साहले विगतको तुलनामा जनकपुरधामसहित मधेश प्रदेशमा लैङ्गिक हिंसाका घटनामा कमी आएको दाबी गरे। स्थानीय तहमा महिलाका लागि ४० प्रतिशत र संघ तथा प्रदेशमा ३३ प्रतिशत आरक्षणको व्यवस्थाले महिलाको नेतृत्वदायी भूमिकामा उल्लेखनीय वृद्धि भएको उनले बताए।
“कुनै बेला महिलाहरू घरभित्र सीमित थिए, अहिले सबै क्षेत्रमा सक्रिय सहभागिता जनाइरहेका छन्,” उनले भने, “महिलाको शिक्षा र सचेतनामा आएको विकासका कारण पनि लैङ्गिक हिंसाका घटनामा क्रमिक रूपमा कमी आइरहेको छ।”
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिमलेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना प्रबन्धक गणेश ठकुरीले परियोजनाअन्तर्गत सम्पन्न गतिविधिबारे जानकारी दिएका थिए।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ४, ८, १३, १४, १५, १७ र १९ मा सञ्चालन गरिएको कार्यक्रममार्फत बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालन कार्यविधि, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि तथा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरिएको छ।
परियोजनाको सहयोगपछि जनकपुरधाम उपमहानगरपालिकाले ९ वटा विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिसकेको तथा पीजीआईएस नक्सांकनमार्फत लैङ्गिक हिंसा न्यूनीकरणका लागि ड्यासबोर्ड हस्तान्तरण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। परियोजनाबाट जनकपुरधाम उपमहानगरपालिकामा मात्रै २ हजार ५ सय ७८ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
परियोजना सञ्चालन भएका पाँचवटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले न्यायिक समितिको सुदृढीकरण, लैङ्गिक हिंसा रोकथामसम्बन्धी नीति तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन, आवश्यक बजेट व्यवस्थापन तथा परियोजनाले स्थापना गरेका सफल अभ्यासलाई आगामी वार्षिक योजना तथा कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा आयोजकले परियोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्याउने स्थानीय सरकार, नेपाल प्रहरी, विद्यालय, सेवा प्रदायक संस्था, समुदायमा आधारित संघसंस्था तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको थियो।
जनकपुरधामसहित पाँचवटै स्थानीय तहमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, नेपाल प्रहरी, विद्यालयका प्रतिनिधि, समुदायमा आधारित संघसंस्था तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा ‘सुरक्षा र न्याय कार्यक्रम’ले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै परियोजनामा कार्यरत कर्मचारीहरूलाई जनकपुरधाम उपमहानगरपालिकाले धन्यवादसहित सम्मान पनि गरेको थियो।





















Discussion about this post