काठमाडौं/असार १९ गते। ‘इन्टरनेटका पिता’ भनेर चिनिने भिन्टन सर्फ यसै महिना अवकाश लिदैँ छन । गुगलमा ‘चिफ इन्टरनेट इभान्जेलिस्ट’को भूमिकामा रहेका सर्फले अर्को हप्ता आफ्नो पदबाट बिदा लिने छन । उनी विगत २० वर्षदेखि गुगलसँग आबद्ध थिए ।
यद्यपि यस विषयमा सर्फ वा गुगल कसैबाट पनि अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति आएको छैन तर एउटा कार्यक्रममा उनको परिचय गराउने क्रममा प्रस्तोताले उनको अवकाशको खबर सार्वजनिक गरेका थिए। आउनुहोस्, इन्टरनेटको सुरुवातमा सर्फले पुर्याएको योगदानबारे चर्चा गरौँ।
सर्फ अहिले ८३ वर्षका भए। सन् १९७३ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत रहँदा उनले र रोबर्ट कानले ती नेटवर्किङ प्रोटोकलहरू विकास गरेका थिए, जुन पछि गएर इन्टरनेट बन्न पुग्यो । उनीहरूले संयुक्त रूपमा ‘ट्रान्समिसन कन्ट्रोल प्रोटोकल’ र ‘इन्टरनेट प्रोटोकल’को डिजाइन गर्न थालेका थिए, यी प्रोटोकलहरूले विभिन्न कम्प्युटर नेटवर्कहरूलाई एक अर्कासँग सञ्चार गर्न सक्षम बनाउन सक्दथ्यो ।
यस प्रोटोकललाई नै इन्टरनेटको आधार मानिन्छ र यसको विकास गरेका कारण सर्फ तथा कानलाई ‘इन्टरनेटका पिता’ का रूपमा सम्मान गरिन्छ। विभिन्न समाचार अनुसार यो कार्य पूरा गर्न उनीहरूलाई त्यतिबेला करिब ६ महिना लागेको थियो।
प्रारम्भिक इन्टरनेटको विकासमा सर्फको योगदान केवल टिसीपी आइपी प्रोटोकल निर्माणमा मात्र सीमित थिएन। सन् १९७६ मा उनले ‘डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी’सँग काम गर्न थाले। यो अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको एउटा निकाय थियो—त्यही मन्त्रालय जसले सन् १९६९ देखि नै ‘एआरपीए नेट’ परियोजनामा काम गरिरहेको थियो। खासमा यो परियोजना सैन्य र अनुसन्धान प्रणालीहरू बीच अन्तरक्रिया सहज बनाउने उद्देश्यले तयार पारिएको थियो।
सर्फले यस क्रममा इन्टरनेटको विकासका साथै इन्टरनेट सम्बन्धी डेटा प्याकेट र सुरक्षा प्रविधिहरूको विकासमा महत्त्वपूर्ण योगदान पुर्याए। इन्टरनेटको प्रारम्भिक विकासमा पुर्याएको योगदानका लागि उनले संयुक्त राज्य अमेरिकामा अनेकौं प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका छन् र विभिन्न प्रमुख संस्थाहरूसँग काम गरेका छन्।
इन्टरनेटसम्बन्धी काम सन् १९७० को दशकतिरै सुरु भए तापनि विश्वको पहिलो वेबसाइट सञ्चालनमा आउन भने निकै समय लाग्यो। इन्फो डट क्रेन डट सिएचलाई विश्वको पहिलो वेबसाइट मानिन्छ र यो सन् १९९१ को अगस्ट ६ मा सञ्चालनमा आएको थियो। यसलाई बेलायती कम्प्युटर वैज्ञानिक टिम बर्नर्सलीले तयार पारेका थिए। युरोपेली आणविक अनुसन्धान संगठनमा सुरु गरिएको यस वेबसाइटमा ‘वर्ल्ड वाइड वेब’परियोजना सम्बन्धी जानकारी समावेश गरिएको थियो।





















Discussion about this post