धनुषा/असार १३ गते । व्याहुत सुडी सेवा समिति, जनकपुरधामको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण समारोह सम्पन्न भएको छ।
समारोहमा निर्वाचन समितिका संयोजक डा. भोला साहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण गर्नेहरूमा अध्यक्ष उमाशंकर प्रसाद साह, उपाध्यक्ष कुशेश्वर प्रसाद साह, महासचिव लक्ष्मण प्रसाद साह, सचिव गौरीशंकर साह तथा कोषाध्यक्ष ऋषिकेश साह रहेका थिए। त्यसैगरी सदस्यहरू रामआशिष साह, बलीराम साह, कुमोद प्रसाद साह, विष्णुकुमार साह, उर्मिलादेवी साह र सुनितादेवी साहले पनि शपथ ग्रहण गरेका थिए।
शपथग्रहण समारोहपछि निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद साहले नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहलाई समितिको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहले समुदायको विश्वास र सहयोगलाई आधार बनाएर समितिलाई अझ सक्रिय, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायको एकता, सामाजिक उत्थान, शिक्षा तथा नयाँ पुस्तालाई संस्थासँग जोड्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए।
यस अवसरमा नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुरूप समुदायको हित, सामाजिक एकता तथा सेवामूलक गतिविधिलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।
समारोहमा समाजका अग्रज, बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा व्याहुत सुडी समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै शिक्षा, सामाजिक सद्भाव, समुदायको विकास र सेवामूलक अभियानलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए।





















Discussion about this post