धनुषा/असार ९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गएको निर्वाचनमा पार्टी राजनीतिक रूपमा पराजित नभएको बताएका छन् । जसपा नेपालले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरू अहिले राष्ट्रिय बहसको केन्द्रमा पुगेकाले पार्टीको राजनीतिक एजेन्डा अझ सशक्त बनेको उनको दाबी छ । जनकपुरधाममा आयोजित धनुषा जिल्लाका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै यादवले संघीयता, समावेशिता, सीमान्तकृत तथा बहिष्कृत समुदायको अधिकार, सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दा जसपा नेपालले निरन्तर उठाउँदै आएको बताए । उनका अनुसार मधेस आन्दोलन र जसपाले उठाएका यिनै मुद्दाहरू आज देशव्यापी बहसको विषय बनेका छन् ‘जसपा नेपालले उठाएका मुद्दाकै वरिपरि अहिले राष्ट्रिय राजनीति घुमिरहेको छ,’ उनले भने ।
यादवले वर्तमान संविधानमा धेरै सकारात्मक प्रावधान भए पनि केही गम्भीर त्रुटिहरू रहेको विषय जसपा नेपालले सबैभन्दा पहिले उठाएको स्मरण गराए । संविधानका सकारात्मक पक्षहरू जोगाउँदै आवश्यक संशोधनमार्फत कमजोरी सच्याउनुपर्ने उनको भनाइ थियो । उनले वर्तमान सरकारले जनताबाट संविधानका त्रुटि सच्याउने र सुशासन कायम गर्ने म्यान्डेट पाएको उल्लेख गर्दै ती विषयमा काम भए जसपा नेपालका एजेन्डा अघि बढ्ने बताए । तर सरकारले यी मुद्दा सम्बोधन गर्न नसके पार्टी पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
यादवले गएको निर्वाचनमा पार्टी आन्तरिक तथा बाह्य दुवै कारणले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गरे । उनले पार्टीलाई सुधार र पुनर्गठन गर्ने आवश्यकता औंल्याउँदै त्यसको सुरुवात नेतृत्वबाटै हुने बताए । ‘निर्वाचनमा पराजित भए पनि संघीयता, गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको बीचमा जाने जिम्मेवारी हामीसँग छ,’ उनले भने ।
कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले लोकतन्त्रमाथि चुनौती बढ्दै गएको बताए । उनले राजनीतिक नेतृत्वले समयमै सक्षम उत्तराधिकारी तयार गर्न नसक्दा लोकतान्त्रिक प्रणाली कमजोर बन्न पुगेको टिप्पणी गरे । भण्डारीले अब नेतृत्व हस्तान्तरणको समय आइसकेको भन्दै युवापुस्तालाई अगाडि ल्याउनुपर्नेमा जोड दिए । आफू पनि कार्यकर्ताको आग्रहमा मात्रै पछिल्लो निर्वाचनमा उम्मेदवार बनेको उल्लेख गर्दै अब नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने धारणा राखे । ‘अब हामी पदमा होइन, अभिभावकीय भूमिकामा रहन चाहन्छौँ। नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने ।





















Discussion about this post